काठमाडौं २६ जेठ । नेकपा एमालेका सांसद डा भीम रावलले काठमाडौँको फोहर व्यवस्थापन समयमा नै हुन नसक्दा संकटकालको स्थिति उत्पन्न भइसकेको बताएका छन् ।
बिहिबार संसद बैठकमा भएको विनियोजन विधेयक, २०७९ अन्तर्गत विविध शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद रावलले यस्तो बताएका हुन् । फोहोर व्यवस्थापनको समस्या महानगरलाई मात्र दिएर सरकार आफ्नो दायित्वबाट पञ्छिन नपाउने बताएका उनले काठमाडौँको फोहोर सफा गरेर देखाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
जनताको स्वास्थ्यमा खेलबाड सरकार सँग आग्रह गरेका रावलले संसारमा असफल भइसकेको नवउदारवाद र पुँजीकरणको बाटोमा राज्य हिँडिरहेको बताएका छन् ।
अर्थ मन्त्रालयसँगको शीर्षकमाथि प्रश्न राख्दै उनले व्यापारघाटा उच्च रहेको, चालु खातामा घाटा वृद्धि भइरहेको, भुक्तानी असन्तुलन तीव्र रहेको र बाह्य ऋण बढ्दो क्रममा रहेको तथा नेपालीका टाउकामा ६० हजार रुपैयाँभन्दा बढी ऋण भइसकेको भन्दै यस्तो अवस्थामा नेपालको अर्थतन्त्रलाई सरकारले कसरी व्यवस्थापन गर्छ भनेर प्रश्न समेत गरेका छन् ।
लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा सरकार मौन बस्नुले स्वाधिनता र स्वतन्त्रताको सुरक्षा नहुने पनि उनले तर्क राखेका छन् ।