काठमाडौं २६ जेठ । सांसद हृदयेश त्रिपाठीले कृषकका लागि मलको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहिबार बसेको संसद बैठकमा बोल्दै नेता त्रिपाठीले कृषि क्षेत्रको प्राथमिकीकरण ‘निबन्ध मात्र’ भएको भन्दै [प्रबन्ध हुन नसकेको’ भन्दै यस्तो बताएका हुन् ।
तराई–मधेसका किसानले भारतीय प्रहरीको प्रताडना सहेर मल ल्याउनुपर्ने र यता ल्याएपछि यहाँका प्रहरीको प्रताडना सहनुपर्ने अवस्था रहेको भन्दै सरकारको ध्यानाकषर्ण गराएका उनले भने, ‘घुमुवा प्रहरी दलालको भूमिकामा देखियो, यसको तत्काल खारेज गर्नुपर्यो ।’
साथै, उनले बर्दिया घटनाका विषयमा समेत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रहरीले किन थारु र मधेषीलाई गोली नै प्रहार गर्छ भन्दै उनले बाघको आक्रमणबाट बचेर आएपछि पुलिसरूपी राक्षसले मारिदिएको आरोप लगाएका छन् ।
‘थारु र मधेसीमाथि गोली नै प्रहार गर्नुपर्ने ? यो घृणालाई चाँडो अन्त्य गर्नुपर्यो ।’ उनले भने ।