जलेश्वर-महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरा गाउँमा बुधबार साँझ पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय किशोर सदाकी छोरी ६ वर्षीया आँचल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । बालिकाको शव परीक्षणका लागि गए राति प्रादेशिक अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिमको पहाडी भेगमा सञ्चार सेवा पुनःसञ्चालन
बैतडीसहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको सञ्चार सेवा पुनःसञ्चालनमा आएको छ । अत्तरिया–डडेल्धुरा क्षेत्रमा अप्टिकल फाइबरमा समस्या आएपछि मङ्गलबारदेखि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको थियो ।
नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाका अनुसार धनगढीबाट प्राविधिक टोली आएर मर्मत गरेपछि सो सेवा पुनःसञ्चालन भएको हो । अप्टिकल फाइबरको समस्याका कारणले बेला बेलामा सुदूरपहाडको पहाडी भेगमा सञ्चारसेवा अवरुद्ध हुने गरेको छ । सञ्चार सेवा अवरुद्धपछि यहाँका सरकारी तथा गैरसरकारी सङ्घसस्था, सञ्चारमाध्यम, वित्तीय कारोबार गर्ने सहकारी तथा बैंक र स्थानीय तहको सेवा प्रवाहमा समस्या भएको थियोे । मोबाइल, टेलिफोन र इन्टरनेट सेवा पुनःसञ्चालनमा आएपछि प्रशासनको सेवा निरन्तर जारी रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।