पाल्पा, २३ जेठ- पाल्पाको तानसेन नगरपालिका–२ नारायणस्थानस्थित देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । सरकारी सहयोगमा सञ्चालित यस विद्यालयमा विद्यार्थीको चहलपहल बाक्लो छ । अमरनारायण मन्दिर परिसरमा सञ्चालित यो विद्यालयकोे क्षेत्रफल भने निकै साँघुरो भएपनि शैक्षिक गुणस्तरका कारण यो विद्यालयले जिल्लाकै अब्बल पहिचान बनाएकाले विद्यालय विद्यार्थीको रोजाइमा परेको हो ।
बालबालिकालाई शिक्षण सिकाइ प्रक्रियामा अन्तक्र्रियात्मक विधि प्रयोग हुन्छ । विद्यार्थीले नबुझेका कुरा छलफलका माध्यमबाट समाधान गरेकाले सिकाइ उपलब्धि राम्रो हुनाका साथै नतिजा पनि राम्रो आउने थालेको हो । यसैकारण यस विद्यालयमा आफ्ना बालबालिका अध्ययन गराउन रुचाउनेहरु बढिरहेका छन् । पहिला संस्कृति भाषामा पठनपाठन हुने यस विद्यालयमा पछिल्ला वर्ष अङ्ग्रेजी माध्यमबाट पनि कक्षा सञ्चालन हुन थालेपछि विद्यार्थीको चाप बढेको विद्यालयका प्रधानाध्यापक कृष्ण थापाले बताउनुभयो । विद्यार्थीको अत्यधिक चाप बढ्न थालेपछि विद्यालयले प्रवेश परीक्षा लिएर मात्र भर्ना अभियान थालेको छ ।
सामुदायिक विद्यालयका विद्यार्थी मात्र होइन निजी स्कुलका विद्यार्थी पनि यस विद्यालयमा अध्ययनका लागि तछाडमछाड गर्न थालेकाले विद्यार्थीलाई कक्षामा राख्नै समस्या भएको उहाँले बताउनुभयो ।
कक्षाकोठामा प्रोजेक्टर प्रयोग गरी शिक्षण गराइने हुँदा विद्यार्थीलाई बुझाउन सहज भएको छ । कक्षा ९ र १० मा कम्प्युटर शिक्षा, राम्रो अक्षर लेखनजस्ता प्रयास पनि हुँदै आएको छ । प्रत्येक शुक्रबार अतिरिक्त कार्यक्रम सञ्चालनले पनि विद्यार्थी यस विद्यालयप्रति थप आकर्षित बनेका हुन् । कक्षाकोठामा अन्तक्र्रियात्मकरुपमा शिक्षण गर्ने चलन रहेको एक विद्यार्थी ममता भट्टराईले बताउनुभयो ।
शिक्षक तथा विद्यार्थीबीच सम्बन्ध राम्रो हुँदा जतिबेला पनि विद्यार्थीले प्रश्न गर्नसक्ने वातावरण बनेकोे छ । किताबको सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक शिक्षामा जोड दिइएको अर्का विद्यार्थी अंशुवर्मा अर्यालले बताउनुभयो ।शिक्षण सिकाइ विधिलाई कक्षामा प्रयोग गर्दा विद्यार्थी केन्द्रित गरिएको छ । विभिन्न परियोजना कार्यान्वयनका लागि विद्यार्थीलाई अवलोकन भ्रमण गरउने गरिएकाले उनीहरुले नयाँ नयाँ खोज गरी ज्ञान प्राप्त गर्ने र यसलाई लेखनका माध्यमबाट अभिव्यक्त गर्दै आएका शिक्षक शेषनारायण चालिसेले बताउनुभयो ।
बालबालिका र शिक्षकशिक्षिकाको सम्बन्ध सुमधुर हुँदा भयरहित वातावरणमा विद्यार्थीले अध्ययन गर्नाका साथै खेल, कथाका माध्यमबाटसमेत पठनपाठन गर्दा उनीहरुमा उत्सुकता बढ्ने शिक्षिका गङ्गाकुमारी लामिछानेले बताउनुभयो ।विद्यालयका शिक्षक अति नै अनुशासित हुनाका साथै विद्यार्थीका कमीकमजोरी औँल्याएर अभिभावकलाई फोन गरेर जानकारी गराउने गरिएको स्थानीय अभिभावक गणेश न्यौपानेले बताउनुभयो ।
विसं २००९ मा संकृस्त पठनपाठनका लागि यो विद्यालय स्थापना गरिएको थियो । संस्कृतको अध्यापन गरिने भएकाले विद्यालयमा बाह्मण छात्रको चहलपहल भएपनि छात्राको भने उत्साहजनक उपस्थिति थिएन । विसं २०४७ तिर यस विद्यालयमा विद्यार्थीको चाप बढे पनि लोकतन्त्र स्थापनापछि भने विद्यार्थी सङ्ख्या घट्दै गयोे ।विसं २०६८ मा आइपुग्दा कक्षा १० सम्म जम्माजम्मी ४२ विद्यार्थीमा विद्यालय सीमित हुन पुगेकाले अन्य विद्यालयमा गाभ्ने चर्चा चल्यो । जतिबेला कक्षा १० मा एक जना मात्र विद्यार्थी अध्ययन गरिरहेका थिए । उनी पनि एसएलसी परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेपछि विद्यालयलाई अन्यत्र गाभ्ने तयारी सुरु भएको थियो ।
विसं २०६९ मा रिब्दीकोट गाउँपालिका मैनादीस्थित प्रभात माविका शिक्षक कृष्ण थापा र माथागढी गाउँपालिका झडेवास्थित किसान माविका शेषनारायण चालिसे यो विद्यालयमा सरुवा भई आउनुभयो ।
सोही समयमा विद्यालय गाभ्ने प्रस्ताव गरिएको थियो । नयाँ शिक्षकको आगमनपछि विद्यार्थी भर्नाका लागि घरदैलो कार्यक्रम सञ्चालन गरिएको थियो । यस विद्यालयका शिक्षक शिक्षिकाले आफ्ना बालबालिकालाई अनिवार्यरुपमा यसै विद्यालयमा अध्ययन गराउनुपर्ने व्यवस्था गरेपछि केहीमात्रामा विद्यार्थी बढ्न थालेको थियो । बिहान साँझ अतिरिक्त कक्षा सञ्चालन गरेपछि विद्यार्थीको नतिजासमेत राम्रो आउन थालेकाले अन्य विद्यालयका विद्यार्थी पनि यसप्रति आकर्षित हुन थालेका थिए ।
विसं २०७५ को एसइइ परीक्षामा यस विद्यालयलका सबै विद्यार्थीले प्रथम स्थान ल्याउन सफल भएपछि विद्यार्थीको अभाव हुन छाड्यो । हाम्रो विद्यालयको गुणस्तरीय शिक्षा र सिकाइ उपलब्धिको राम्रो प्रचार भएकाले जिल्लामै विद्यालय अब्बल बनेको प्रधानाध्यापक थापाले बताउनुभयो ।विगतमा गरीब तथा विपन्न समुदायका बालबालिकाले अध्ययन गर्ने भनिएको यस विद्यालयमा शैक्षिक गुणस्तर राम्रो हुन थालेसँगै निजी स्कुल छाडेर यो विद्यालयमा अध्ययन गर्नेको चाप बढेको हो ।