सुन्दर सुदूरपश्चिम अभियानमा योगदान गरौँ : मन्त्री बडू — OSNepal

सुन्दर सुदूरपश्चिम अभियानमा योगदान गरौँ : मन्त्री बडू

LC (KTM) June 05, 2022 0

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सुदूरपश्चिमको सर्वाङ्गीण विकास गरी यस क्षेत्रलाई सुन्दर बनाउन सबैले आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । सुदूरपश्चिम सरोकार मञ्चको ११औँ साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले विकास निरन्तर प्रक्रिया भएको तर यसमा कति गति दिइयो भन्ने कुरा महत्वपूर्ण हुने बताउनुभयो । सुप विकासको मूल प्रवाहमा पछि परेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यस क्षेत्रबाट राज्य सञ्चालनको प्रमुख भूमिका हिजो पनि थियो र आज पनि छ, विकास निर्माणमा धेरै काम पनि भएका छन्, तर त्यो पर्याप्त होइन ।”

प्रजातन्त्रको पुनःस्थापनापछि सुदूरपश्चिम क्षेत्रमा तुलनात्मक बढी विकास भएको तथ्य उल्लेख गर्दै मन्त्री बडूले अझै गर्नुपर्ने पूर्वाधार विकास निर्माणका काम धेरै छन् भन्नुभयो । कञ्चनपुरको सिमानामा बन्ने सुक्खा बन्दरगाहको महत्वका बारेमा जानकारी गराउँदै उहाँले यसले व्यापारमा सुविधा बढाउने र लागत घटाउने बताउनुभयो । उहाँले योजना र बजेटमात्र भएर नहुने बताउँदै पूँजीगत खर्च गर्न नसकिए उद्देश्य हासिल नहुने बताउनुभयो ।
कार्यक्रममा पूर्वउपप्रधानमन्त्री भीम रावलले अहिलेको बजेटमा धार्मिक र पुरातात्विक महत्वका गन्तव्यलाई पर्यटनसँग जोड्ने राम्रा कार्यक्रम भए पनि सुदूरपश्चिम प्रदेशका त्यस्ता क्षेत्रलाई उचित मात्रामा उल्लेख नगरिनु दुःखद भएको बताउनुभयो । उहाँले त्यस्ता कार्यक्रममा विशेषगरी खप्तड क्षेत्र छुटेको उल्लेख गर्दै बजेटमा समेट्न सरकारसँग आग्रह गर्नुभयो ।

पछाडि परेका सुदूरपश्चिम र कर्णाली प्रदेशको विकास र समृद्धिका लागि पश्चिम सेती र माथिल्लो कर्णाली जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउनुपर्ने उहाँको सुझाव थियो । विकास निर्माणका हरेक कार्य पूर्वबाट प्रारम्भ हुने गरेकामा आगामी दिनमा सुदूरपश्चिमबाट प्रारम्भ गर्नुपर्ने उहाँको भनाइ थियो ।

पूर्वमन्त्री एनपी साउँदले सुदूरपश्चिम विकासका सन्दर्भमा पछाडि परेको उल्लेख गर्दै प्रजातन्त्रको पुनःस्थापनापछि ढिलै भए पनि सडक सञ्जालको विकास भएको र शिक्षा, स्वास्थ्य सिँचाइलगायत क्षेत्रमा प्रगति भएको बताउनुभयो । यस क्षेत्रका धार्मिक र ऐतिहासिक महत्वका गन्तव्य धेरै भए पनि अपेक्षित सङ्ख्यामा पर्यटन भित्र्याउन नसकिएको उहाँको भनाइ थियो । सुदूरपश्चिमको विकास र समृद्धिका लागि केही कठिनाइ र चुनौती भए पनि सबैको प्रयत्नबाट त्यो सहजै सम्भव हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री गणेश ठगुन्ना, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल, मञ्चका संस्थापक अध्यक्ष एवं नेपाल प्रहरीका पूर्व आइजिपी मोतिलाल बोहरा, मञ्चका अध्यक्ष विष्णुप्रसाद खत्रीलगायतले सुदूरपश्चिमको अवस्थाबारे चित्रण गर्दै विकासका लागि आफ्ना सुझाव दिनुभएको थियो । कार्यक्रममा प्रधानमन्त्री देउवाले मञ्चका सल्लाहकार शिवराज श्रेष्ठ मल्ललाई अभिनन्दनपत्रले सम्मान गर्नुभएको थियो ।

मञ्चमा नयाँ नेतृत्व चयन
सुदूरपश्चिम सरोकार मञ्चको आज सम्पन्न ११औँ साधारणसभाले उपाध्यक्ष बहादुरसिंह विष्टको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको साधारणसभा उद्घाटनपछि भएको निर्वाचन प्रक्रियाबाट अध्यक्षमा विष्ट, उपाध्यक्षद्वयमा भाष्कर लाला र राजराजेश्वरी सिंह, महासचिवमा लक्ष्मी शाह, सचिवमा पूर्णबहादुर चन्द, कोषाध्यक्षमा गोदावरी सिंह शाही एवं सदस्यहरुमा नरबहादुर विष्ट, मोहनसिंह ऐतवाल, शम्शेर ठकुराठी, भीष्मराज ओझा, देवबहादुर बोहरा, अर्जुनबहादुर सिंह, लक्ष्मीप्रसाद उपाध्याय र विजयबहादुर शाह निर्वाचित हुनुभएको हो ।

सुदूरपश्चिमबाट काठमाडौँ आई अस्थायी र स्थायी रुपमा बसोबास गर्दै आएका र आफ्नो थातथलोलाई माया गर्ने नेपाल सरकार तथा अन्य विभिन्न निकायमा एवं पेसामा संलग्न भई अनुभव हासिल गरेका उच्च पदस्थ एवं विज्ञ व्यक्तित्वलाई समावेश गरी विसं २०६३ जेठ २८ गते मञ्चको गठन भएको हो । मञ्चले स्थापनाकालदेखि नै सुदूरपश्चिमको सर्वाङ्गीण विकासका लागि विभिन्न क्षेत्रबाट सल्लाह सुझाव सङ्कलन गरी विभिन्न स्वरुपमा सुदूरपश्चिमको विकासका लागि योगदान दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर