निर्वाचनमा विनियोजित बजेट नियमानुसार सञ्चालन भए-नभएको मूल्याङ्कन गर्न अनुगमन टोलीलाई निर्देशन — OSNepal

निर्वाचनमा विनियोजित बजेट नियमानुसार सञ्चालन भए-नभएको मूल्याङ्कन गर्न अनुगमन टोलीलाई निर्देशन

LC (KTM) June 05, 2022 0

काठमाडौँ, २२ जेठ -प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले स्थानीय तह निर्वाचनमा विनियोजित बजेट नियमानुसार कार्यक्रम सञ्चालन भए÷नभएको बारे सुक्ष्म र वस्तुनिष्ठ अनुगमन तथा मूल्याङ्कन गर्न आठ अनुगमन टोलीलाई निर्देशन दिनुभएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहमा उहाँले विनियोजित बजेटमा तोकिएको मापदण्ड अनुरूप कार्यक्रम सञ्चालन भए, नभएकोबारे प्रभावकारी तथा सुक्ष्म रूपमा अध्ययन गरी पारदर्शी प्रतिवेदन पेश गर्न निर्देशन दिनुभयो । आर्थिक प्रशासन ऐन, नियम बमोजिम रितपूर्वक खर्चको लेखा दुरूस्त राखे÷नराखेको लगायतका विविध आर्थिक विषयमा अनुगमन गरी प्रतिबेदन ल्याउन महानिरीक्षक सिंहले निर्देशन दिनुभएको छ ।

टोलीलाई स्थानीय तह निर्वाचन, २०७९ मा बजेट सञ्चालन गर्ने नेपाल प्रहरीका विभिन्न कार्यालयलाई विनियोजित रकम तोकिएको मापदण्ड, प्रचलित आर्थिक प्रशासनसँग सम्बन्धित ऐन÷नियम तथा प्रहरी प्रधान कार्यालयबाट समय समयमा जारी निर्देशिका र परिपत्र बमोजिम मितव्ययी, प्रभावकारी एवं पारदर्शी ढङ्गबाट सम्पादन भएको नभएकोबारे अनुगमन गर्ने जिम्मेवारी छ ।

यस्तै म्यादी प्रहरी नियुक्ति तथा सुविधा, निर्वाचन शान्ति सुरक्षा कायम गर्न परिचालन अवस्थाको स्थलगत अनुगमन, पृष्ठपोषण तथा सिफारिस प्रयोजनका लागि अनुगमन टोली परिचालन गरिएको हो । प्रहरी प्रधान कार्यालय तथा काठमाडौँ उपत्यका प्रहरी कार्यालय, सातवटै प्रदेश प्रहरी कार्यालय तथा सो मातहतका सबै जिल्ला प्रहरी कार्यालयमा खटिइ जान लागेका प्रहरी अधिकृत सहितका आठै टोलीले जेठ २३ गतेदेखि असार १ गतेसम्म अनुगमन गरी प्रतिवेदन पेश गर्नुपर्नेछ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर