काठमाडौं २२ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको आर्थिक अवस्था अझैपनि उठ्न नसकेको बताएका छन् । सुदूरपश्चिमाञ्चल सरोकार मञ्चको ११ औं साधारणसभामा सहभागी भएका देउवाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
देउवाले सुदूरपश्चिममा विकासको सम्भावना रहेको भन्दै विकास गर्न सकेको खण्डमा अवश्य नै सुदूरपश्चिम धनी हुने बताएका छन् ।
सुदूरपश्चिमाञ्चमा अझै पनि गरिबी नघटेको , विकासबाट निकै पछि परेको र युवाहरुमा बेरोजगार भएको अवस्था रहेको बताएका देउवाले भने, ‘गरिबी अझैपनि घटेको छैन । हाम्रा युवाहरू अझै बम्बई , मद्रास जाने गर्छन् । लाहुर जाने भन्छन् । यस्तो अवस्था छ ।’
विगतको कुरा सम्झदै देउवाले आफु एसएलसी पास गरेपछि पहिलो पटक काठमाडौ आउँदा , धनगढीसम्म पैदल, धनगढीबाट रेल चढेर लखनउ हुँदै
रक्सौलबाट गाडी चढेर काठमाडौं आएको स्मरण गरेका छन् ।
प्रधानमन्त्री देउवाले अहिले सुदूरपश्चिम जाने बाटो बनेको भन्दै भावुक भई भने,’पहिला डोटीको उच्चाकोटबाट एसएलसी पास गरेपछि काठमाडौं पढ्न आएको हुँ,धनगढीसम्म पैदल, धनगढीबाट रेल चढेर लखनउ, लखनउबाट गुवाहटी, त्यहाँबाट रेल चेञ्ज गरेर रक्सौल पुगे । रक्सौलबाट गाडी चढेर काठमाडौं आएको हुँ । त्यस्तो अवस्था थियो पहिला ।’
महाकाली , सेती नदी यही भएकाले सुदूरपश्चिममा विकासको सम्भावना भएकोले यहाँ विकास गर्न सकेको खण्डमा अवश्य नै सुदूरपश्चिम धनी हुने देउवाले बताएका छन् ।