हेटौँडा, २० जेठ :
पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा-३ को तीनताप्के भन्ने ठाउँमा कुखुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा बोलेरोका चालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो बस्तिपुरबाट हेटौँडातर्फ आउँदै गरेको ना५च ३६२७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा हेटौँडा-६ का ३३ वर्षीय गोपाल दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै मोटरसाइकलको ठक्करबाट खोटाङमा राप्रपाका नेता जीवनकुमार श्रेष्ठ गम्भीर घाइते भएका छन् । प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ५६ वर्षीय श्रेष्ठ गम्भीर घाइते भएका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र जाँदै गरेको मोटरसाइकलले श्रेष्ठलाई सपिङ कम्प्लेक्स अगाडि सडक छेउमा ठक्कर दिएको थियो । श्रेष्ठ आफ्नो परिवारसहित सपिङ कम्प्लेक्स नजिकै बस्दैआएका छन् ।
स्पिडमा पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिएपछि सडकमा ढलेका श्रेष्ठको टाउको र छातीमा चोट लागेको छ । श्रेष्ठलाई उपचारका लागि दिक्तेलको फेमिली केयर अस्पतालमा लगिएको थियो । फेमिली केयरले रेफर गरेपछि श्रेष्ठलाई हेलिकोप्टरमार्फत न्युरो अस्पताल बाँसबारी लगिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले बताए । उनी राप्रपा खोटाङका निवर्तमान अध्यक्ष हुन् ।
उनी भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरका उम्मेदवार थिए । राप्रपाका जिल्ला अध्यक्ष ललित राईका अनुसार श्रेष्ठको अवस्था चिन्ताजनक छ ।
मोटरसाइकल दुर्घटनामा सवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी ४८ वर्षीय विष्णुकुमारी राई पनि घाइते भएकी छन् । हेलिकोप्टरबाट श्रेष्ठसँगै काठमाडौं पठाइएकी राईको पनि न्युरो अस्पतालमै उपचार भइरहेको छ । मोटरसाइकल चालक लफ्याङका १७ वर्षीय अभिषेक राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते विष्णुकुमारी र अभिषेक आमाछोरा हुन् ।