काठमाडौं २० जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौं उपत्यकाको फोहोर विर्सजन गर्ने नुवाकोट सिसडोल र वञ्चरेडाँडाको अवलोकन गरेका छन् । अवलोकन गर्ने क्रममा स्थानीयले मेयर साह माथि आक्रोशित बनेका छन् । साहले आफु मेयर भएलगत्तै फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकता राखेर काम गरिरहेको भन्दै गर्दा स्थानीय होहल्ला गरका थिए ।
पाँच वर्षदेखि जनप्रतिनिधिलाई भनिरहेको भन्दै स्थानीय आक्रोशीत बनेपछि साहले भने , ‘ए बाबा, पाँच वर्ष भएको छैन । तीन दिन, चार दिन मात्रै भयो क्या । चार दिन मात्रै भो । १७ वर्षको कुरा ममाथि लाद्नुहुन्छ ? मलाई काम गर्न त दिनुपर्यो नि । मलाई काम गर्न दिनुभयो भने काम हुन्छ । म स्वतन्त्र व्यक्ति हो । मलाई कुनै पनि पार्टीको केही पनि लाग्दैन । मैले साँठगाँठ कोहीसँग गरिराख्नु पर्दैन । कुनै पार्टीसँग सेटिङ पनि मिलाउनु पर्दैन ।’
आफु स्वतन्त्र व्यक्ति भएकाले काम गर्न दिन आग्रह गरेका साहले आफुले कुनै पनि पार्टीसँग सेटिङ मिलाउनु नपर्ने भन्दै उनले अघि भने, ‘मैले कुनै पनि पार्टीसँग सेटिङ मिलाउनु पर्दैन । बुझ्नुभयो नि ? यो कुरा सबैले बुझिलदिनु परो । म स्वतन्त्र व्यक्ति हो । मलाई काम गर्न दिनुपर्यो । हप्ता दिनमा हुने कुनै काम छन् । एक महिनामा हुने कुनै काम छन् । ६ महिनामा हुने काम छन् । तपाईँहरूको जनप्रतिनिधिलाई मन्त्रालयमा कुरा गर्न वातावरण सहज गरिदिन्छु । त्यहाँ सम्झौता किन भएन गरिदिनुपर्यो भनेर हिजो पनि गएको थिएँ ।’
‘हिजो गएर त थाहा भयो, अब यो आज टेन्डर खुल्दैछ । एउटालाई टेन्डर पर्छ त्यो १२ किलोमिटरको बाटोको । अर्को सिसडोलको कुराहरू छन् । दबाब दिने हो नि त । आज पनि मैले सडक विभाग, विद्युत् सबैलाई बोलाएको छु । समस्या समाधान गर्न म लागिपर्ने हो । म कुनै पार्टीको मान्छे होइन । मलाई कुनै पार्टीले अह्राउने, मलाई कसैले फोन गरेर केही पनि हुँदैन । काम गर्न दिनुपर्यो । त्यत्ति हो कुरा ।’