काठमाडौं १९ जेठ । नेपाल प्रहरीका प्रमुख धिरजप्रताप सिंहले सामाजिक सञ्जालबाट मानसिक यातना दिने गरी महिलाविरुद्ध हुने हिंसामा जाहेरी परे अनुसन्धान हुने जानकारी दिएका छन् ।
बिहीबार नेपाल प्रहरीको नेतृत्व गरेको एक महिना पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा सिंहले यस्तो जानकारी दिएका हुन् ।
विगतका नेतृत्वले ल्याएका सबै योजना अब्बल भए पनि प्रभावकारी कार्यान्वयनको अभाव भएको आफुले त्यसको कार्यान्वयनमा ध्यान दिने पनि बताएका छन् ।
हालै पत्रकार कञ्चन न्यौपानेले आफूमाथि भएको मानसिक यातनाबारे एक लेख लेख्दै प्रहरीको साइबर ब्यूरोले जाहेरी दर्ता गर्न नमानेको बताएकी थिइन् । ब्यूरोले ‘तथ्य पुग्दैन’ भनेर फर्काइदिएको उनको गुनासो थियो ।
प्रहरीले जाहेरी लिन्न भन्नै नपाउने बताएका सिंहले भने , ‘कहिले काहीँ प्रहरीले जाहेरी लिएन भन्ने गुनासो आउँछ, साइबर ब्यूरोले जाहेरी लिएन भने माथिल्लो निकाय उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमार्फत पनि दिन सकिन्छ, अथवा जिल्ला प्रशासन कार्यालयमा पनि दिन सकिन्छ’अहिले प्रहरीलाई जाहेरी लिनै पर्ने बाध्यात्मक अवस्था छ, पक्राउ गर्ने नगर्ने भन्ने चाहीँ अनुसन्धानबाट टुंगिने विषय हो ।’
वस्तुनिष्ठ अनुसन्धान, प्रहरी समायोजनालाई निष्कर्षमा लैजाने, मानवअधिकारको सम्मान गर्दै अपराध नियन्त्रण जस्ता नेपाल प्रहरीको प्राथमिकताले नै मेरो नेतृत्वको पनि प्राथमिकता भएको सिंहले बताएका छन् ।