काठमाडौं १८ जेठ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बलात्कृत महिलाको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने बताएकी छन् ।
एकपल्ट बलात्कृत भएपछि महिलाको सम्पूर्ण जीवन बर्बाद हुने बताएकी उनले बलात्कृत महिलालाई तत्कालिन क्षतिपूर्ति र जीवन निर्वाहको दायित्व सरकारको हुनुपर्ने बताएकी हुन् ।
बुधबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै नेतृ पौडेलले महिलामाथिको
बलात्कार हिंसाको कारबाहीलाई छिटो टुंग्याउन पारिवारिक वा फास्ट ट्रयाक अदालत गठन गर्नुपर्ने र त्यसका लागि बजेटमा रकम विनियोजन हुनुपर्ने समेत उनले जोड दिएकी छन् ।
उत्पीडित महिलाहरुलाई सहयोग र संरक्षणका लागि सरकारले महिला सहायता कोष निर्माण गर्नुपर्ने उनले बताएकी छन् ।
‘समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि कृषि र उद्योगको क्षेत्रमा यथास्थितिबाट माथि उठ्नुपर्छ । समाजवादी दिशामा ठोस कदम चाल्नुपर्ने देखिन्छ, तर त्यो देखिएन’ उनले भनिन् ।