काठमाडौ १७ जेठ । नवर्निवाचित भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्षमा श्यामकृष्ण नायजु श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।
सरकारी जग्गा बैना गरी कीर्ते गरेको आरोपमा श्रेष्ठविरुद्ध उजुरी परेपछि प्रहरीले ठगी तथा फौजदारी आरोपमा उनलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको हो । उक्त मुद्धामा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा केशवप्रसाद अधिकारी र ईश्वर गाइँजु रहेका छन् ।
वडा अध्यक्ष श्रेष्ठसहित चार जना भने फरार रहेको प्रहरीले जनाएको छ । फरार भनेका वडा अध्यक्ष श्रेष्ठ भने दिनहुँ वडा कार्यालय पुगेको पनि बताइएको छ । अध्यक्षमा निर्वाचित भएर सपथ तथा पदभार ग्रहण समेत गरेका श्रेष्ठले कुनै पनि वडा सदस्यलाई कार्यबाहकको जिम्मेवारी भने दिएका छैनन् ।
पक्राउ पुर्जी जारी गरेपछि पनि आज मंगलबार मात्रै श्रेष्ठ चाँगुनारायण नगरपालिका कार्यपालिका सदस्य निर्वाचनमा समेत सहभागी भएको बुझिएको छ ।