काठमाडौं १७ जेठ । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले गठवन्धन सरकारले ल्याएको आर्थिक वर्षको २०७९ ८० को बजेटमाथि टिप्पणी गरेका छन् ।
आज मंगलबारबाट संसदमा बजेटमाथि सुरु भएको छलफलमा नेता भट्टराईले
शिक्षा र स्वाथ्थ्य क्षेत्रबाट कमिशन नआउने भएरनै बजेट कटौती गरिएको हो भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न गरेका छन् ।
बजेट गन्तव्यविहीन र मुलुकको कुनै पनि खालको हित गर्न नसक्ने दावी गरेका उनले यो बजेटले मुलुकको आर्थिक–सामाजिक रुपान्तरणका लागि उत्पादक शक्तिहरुको विकास र उत्पादनका साधनहरुको अधिकतम उपयोग गर्ने कुरालाई चासो समेत नदिएको आरोप लगाएका छन् ।
जारी बजेट चौबाटोमा उभिएको गन्तव्य निश्चित नभएको अलमलिएर बसेको भन्दै भट्टराईले बजेटमा कतै लेशसफियरको गन्ध,कतै असी दशकतिरको माओत्सेतुङको गन्ध आएको बताएका छन् । विद्यमान सामाजिक, आर्थिक असमानताहरुलाई अन्त्य गर्ने र एउटा न्यायमूलक र समतामूलक समाज निर्माण गर्ने गन्तब्य हुनुपर्नेमा बजेट त्यसरी आउन नसकेको आरोप लगाएका छन् ।
उनले भने,‘यो बजेटले हाम्रो नेपाली समाजमा रहेका उत्पादक शक्तिहरुको विकास गर्ने कुरामा र उत्पादनकाम साधनहरुको अधिकतम उपयोग गर्ने कुरामा यसले कुनै ध्यान दिएको छैन । त्यसैकारण पनि यो बजेट जहाँको त्यही बस्छ भनेर निवेदन गर्न खोजेको हुँ । अहिले टिकटकमा माननीय अर्थमन्त्रीज्यूको एउटा भिडियो आईरहेको छ । सायद उहाँले पनि हेर्नु भयो होला । त्यतिबेला उहाँले एउटा इन्टरभ्यू दिईरहनु भएको थियो । त्यो मैले हिजो मात्रै टिकटकमा हेरे ।’
‘शिक्षाको बजेट किन बढाएन, स्वास्थ्यको बजेट किन बढाइएन भन्ने सन्दर्भमा उहाँले उत्तर दिनु भएको छ । शिक्षाको बजेटमा त २० प्रतिशत हुनुपथ्र्यौं, स्वास्थ्यको बजेट त २० प्रतिशत हुनुपथ्र्यो भन्दै उहाँले के भन्नु भएको छ भने–त्यहाँ किन बजेट बढाउँदैनन भने अर्थमन्त्रीहरु त्यहाँ कमिशन आउँदैन । उहाँले त्यो भन्नु भएको छ । आज उहाँ स्वयमले अर्थमन्त्रीको रुपमा यहाँ बजेट प्रस्तुत गर्नु भएको छ ।’
‘शिक्षामा उहाँले कुनै उल्लेख्य बजेट राख्नु भएको छैन । २० प्रतिशतको कुरै छोडौं । १० प्रतिशतको हाराहारी पनि पुगेको छैन । स्वास्थ्यको स्थिति हेर्ने हो भने गएको वर्ष भन्दा बजेट घटाइएको छ । अव म अर्थमन्त्रीजीलाई नै सोध्न चाहन्छु–के साँच्चै कमिशन नआउने भएर शिक्षा, स्वास्थ्य जस्तो क्षेत्रमा बजेट कटौति गर्नु भएको हो त ? मेरो गम्भिर प्रश्न यहाँलाई त्यहाँनिर छ ।’