काठमाडौं १६ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको बलात्कार गरी हत्या गर्नेलाई पक्राउ गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सोमबार चौथो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सहभागी भएका देउवाले निर्मला पन्तको बलात्कार र हत्यापछि प्रमाण मेट्ने काम भएको भन्दै उक्त घटनामा संलग्नलाई पक्राउ गरेरै छाड्ने बताएका हुन् ।
बलात्कारजस्तो घटनामा अपराधीलाई क्षमा दिन नसकिने बताएका देउवाले ढिलो(चाडो अपराधीलाई कानूनी कठघरामा उभ्याइने दावी गरेका छन् ।
‘महिलाविरूद्ध हुने सबै किसिमका हिंसाजन्य कार्य र शोषणलाई कानुनले दण्डनीय हुने व्यवस्था गरेको छ’, प्रधानमन्त्री देउवाले भने ।
लैङ्गिक विभेद तथा हिंसाका घटनालाई जरैदेखि निर्मूल गर्न शून्य सहनशीलताको नीति लिइ कार्य गर्दै आएको दावी गरेका उनले आगामी दिनमा यस नीतिलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्ने पनि प्रतिवद्धता जाहेर गरेका छन् ।