काठमाडौं १६ जेठ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन धेरै लगानी र समय खर्च भइसकेकाले अब पनि बनाउन नसके देशलाई क्षति हुने बताएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता सिंहले यस्तो बताएका हुन् । निजगढमा विमानस्थल बनाउन नसके धेरै क्षति व्यहोर्नु पर्ने बताएका उनले नेपाल ल्याण्ड लक्डबाट एयर लक्ड हुन सक्ने बताएका छन् ।
सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे गरेको फैसलाको पूर्ण पाठ आएपछि थप कदम चाल्न सकिने भन्दै उनले सर्वदलीय सहमति गरेर भए पनि निजगढ अब फास्ट ट्र्याकमै बनाउनु पर्नेमा जोड दिएका छन् ।