निरंकुश सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा भएको दिन आज : प्रचण्ड — OSNepal

निरंकुश सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा भएको दिन आज : प्रचण्ड

LC (KTM) May 29, 2022 0

काठमाडौं १५ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र दिवस–२०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने क्रममा देशव्यापीरुपमा एकैसाथ सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली जनताको उत्साहजनक सहभागिता रह्यो । निर्वाचनमा जित हार भन्दापनि संविधान कार्यान्वयन गर्ने र लोकतन्त्रलाई समृद्ध बनाउने अग्रगमनको प्रक्रिया विजयी बनेकोमा हामी हर्षित छौं । गणतन्त्र दिवसको यस अवसरमा निर्वाचनमा विजयी जनप्रतिनिधि एवं सहभागी सम्पूर्ण दिदीबहिनी तथा दाजभाइहरुमा हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौं । उनले भनेका छन् ।

शुभकामना

गणतन्त्र दिवस–२०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना गर्दछु । आजको दिन नेपाली जनताको सदियौं देखिको संघर्षको परिणामस्वरुप निरंकुश सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा भएको दिन हो ।

१० वर्षे महान् जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेस आन्दोलन लगायतका आन्दोलनहरुका क्रममा गणतन्त्र प्राप्तिका लागि आफ्नो प्राणको आहुति दिने महान् सहिदहरुमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । आन्दोलनको क्रममा बेपत्ता र घाइते योद्धाहरुमा उच्च सम्मान व्यक्त गर्दछु ।

नेपाली समाजको अग्रगामी परिवर्तनको यस अभियानमा हामीले संविधानसभाबाट संविधान निर्माण ग-यौं । संविधान कार्यान्वयनका क्रममा देखापरेका अलोकतान्त्रिक, असंवैधानिक र निरंकुश प्रवृतिलाई पनि हामीले संर्घषकै बलमा पराजित गरेर यहाँसम्म आईपगेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने क्रममा देशव्यापीरुपमा एकैसाथ सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली जनताको उत्साहजनक सहभागिता रह्यो ।

निर्वाचनमा जित हार भन्दापनि संविधान कार्यान्वयन गर्ने र लोकतन्त्रलाई समृद्ध बनाउने अग्रगमनको प्रक्रिया विजयी बनेकोमा हामी हर्षित छौं । गणतन्त्र दिवसको यस अवसरमा निर्वाचनमा विजयी जनप्रतिनिधि एवं सहभागी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौं ।

देशको परिवर्तन र अग्रगमन सहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प हो । नेपालको राजनीतिक इतिहासमा विभिन्न राजनैतिक विचार र प्रवृतिहरु बीचका संघर्ष, सहकार्य र रुपान्तरणको प्रक्रियाबाट ठूलाठूला राजनैतिक परिवर्तन संभव भएका हुन् ।

तसर्थ, आजको दिन सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकतावद्ध भई अघि बढन हार्दिक अपील गर्दछु ।

१५ जेठ, २०७९
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर