सभापति देउवाद्वारा पूर्व सांसद अधिकारीको निधनप्रति दुःख व्यक्त — OSNepal

सभापति देउवाद्वारा पूर्व सांसद अधिकारीको निधनप्रति दुःख व्यक्त

LC (KTM) June 14, 2021 0

काठमाडौँ, ३१ जेठ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लमजुङ कांग्रेसका पूर्व सभापति एवं पूर्व सांसद हरिभक्त अधिकारीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँको आइतबार काठमाडौंको मनमोहन मेमारियल अस्पतालमा उपचारका क्रममा ७९ वर्षको उमेरमा निधन भएको हो ।सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उहाँको निधनको खबरले आफू निकै दुःखी भएको उल्लेख गर्दै कांग्रेसले एक असल नेता गुमाएको जनाउनुभएको छ । कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा अधिकारीले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले उहाँप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

विसं १९९९ पुस १९ गते लमजुङको सुन्दरबजार नगरपालिका–४ (साविक दुराडाँडा गाविस चारघरे) मा जन्मनु भएका अधिकारी विगत लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो । अधिकारी २०४८ सालदेखि २०५३ सालसम्म कांग्रेस जिल्ला कार्यसमिति लमजुङको सभापति हुनुहुन्थ्यो ।

पार्टीको विभिन्न तहको पदमा रही कार्य गर्नुभएका अधिकारी विसं २०५६ को आम निर्वाचनमा लमजुङ जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो । अधिकारी गैरसरकारी संस्था महासंघको पूर्व केन्द्रीय कार्यवाहक अध्यक्ष र नेपाल खाद्य संस्थानको पूर्व अध्यक्ष तथा विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहँदै विकास निर्माणमा समेत क्रियाशील हुनु भएको थियो ।कांग्रेसले नेपालको प्रजातान्त्रिक आन्दोलनको क्रममा उहाँले पटक पटक जेल जीवन समेत व्यतित गर्नु भएको उल्लेख गर्दै उहाँको निधनबाट पार्टीले एक अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको जनाएको छ । स्व अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर