काठमाडौं १३ जेठ । नेकपा एमालेकी नवनिर्वाचित काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आफु विकास र समृद्धिका लागि कहिल्यै पनि बाधक नबन्ने बताएकी छन् । निर्वाचित भएपछि धन्यावाद ज्ञापन गर्दै उनले जनताले दिएको उपमेयरको जिम्मेवारीलाई शासक नभइ सेवकको रुपमा काम गर्ने बताएकी छन् ।
युवाप्रति अथाह भरोसा गरेर काठमाडौं जस्तो महत्त्वपूर्ण महानगरपालिकामा काठमाडौं महानगरवासी मतदाताले आफुलाई मतदान गरी विजयी गराएको बताएकी उनले भनिन्,’तपाईँहरुको विश्वासलाई शिरमा राख्दै शासक होइन सेवक भएर काम गर्ने प्रण पनि व्यक्त गर्न चाहन्छु ।’
चुनावी परिणाम सार्वजनिक भएसँगै जित–हारको मनोविज्ञानलाई अन्त्य गर्न अपिल समेत गरेकी उनले महानगरपालिकाको विकास र समृद्धिका लागि सहकार्य, सहमति र सहअस्तित्वको सिद्धान्तलाई अघि सबैलाई आग्रह पनि गरेकी छन् ।
काठमाडौंको विकास र समृद्धिका लागि पनि कुनै पनि ठाउँमा बाधक नबन्ने बताएकी उनले मतदाताले महानगर हाँक्ने जिम्मेवारी युवाहरुलाई दिएको भन्दै त्यसलाई इमान्दारितापूर्वक निर्वाह गर्ने समेत बताएकी छन् ।
डंगोल गठवन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठलाई ४४ हजार ४ सय ६ मतान्तरले पराजित गर्दै उपमेयर विजयी भएकी हुन् ।