जनकपुरधाम १२ जेठ । नेपाली कांग्रेसका पूर्वसभापति विमलेन्द्र निधिलाई प्रमुख अतिथि बनाएपछि जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित मेयर मनोज साह विवादमा तानिएका छन् ।
स्वतन्त्र रुपमा उम्मेदवार दिएका साह मेयरमा निर्वाचित भएपछि सपथग्रहण समारोह कांग्रेसका निधिलाई प्रमुख अतिथि बनाएपछि विवादमा तानिएका हुन् ।
मेयर साहले उपमेयर, वडाध्यक्ष र सदस्यहरूलाई सपथग्रहणका लागि कार्यक्रम आयोजना गरेको भएपनि सबै जनप्रतिनिधिले कार्यक्रम बहिष्कार गरेका छन् ।
उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै निधिलाई प्रमुख अतिथि बनाएकाले सपथग्रहण समारोहमा उपस्थित हुन असमर्थ भएको उल्लेख गरेका छन् ।
‘सपथग्रहण समारोहमा प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री वा नेपाल सरकारका कुनै तहका कर्मचारीलाई प्रमुख अतिथि बनाएको भए आपत्ति थिएन’ विज्ञप्तीमा भनिएको छ ।
कांग्रेसबाट टिकट नपाएपछि नगर सभापतिबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार दिएका साह १३ हजार ४६५ मत सहित विजयी भएका हुन् ।