काठमाडौं ११ जेठ । जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले पाँच जना सचिवको सरुवा गरेको छ । सरकारले निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरूको सरुवा गरेको हो ।
जसमा रविन्द्रनाथ श्रेष्ठ, सुरेश आचार्य, मणिराम गेलाल, सुशीलचन्द्र तिवारी र गोपालप्रसाद सिग्देलको नाम सिफारिस भएको छ ।
उनीहरुलाई क्रमश प्रमुख अधिकृत राष्ट्रिय सतर्कता केन्द्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खानेपानी मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले गरेको निणर्य सार्वजनिक गर्दै सरकारले २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन समेत गरेको जानकारी गराएका छन् ।