चितवन १० जेठ । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालको लागि निर्वाचित भएपछि रेनु दाहाल आफुले भरतपुरवासीलाई निराश हुन नदिने बताएकी छन् ।
भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले विगतका अधुरा काम पूरा गर्ने भन्दै भरतपुरलाई नमूना र स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने बताएकी हुन् ।
पहिलो प्राथमिकता शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, फोहोर तथा ढल व्यवस्थापनमा जोड दिने बताएकी उनले भनिन्, ‘योगदानमा कमी आउन दिने छैन, भरतपुरवासीलाई निराश हुन दिने छैन ।’
अब मतदाताले दिएको जिम्मेवारी पूरा गर्न आफु लाग्ने बताएकी उनले पाँच दलीय गठबन्धन लामो समयसम्म टिक्ने बताएकी छन् ।
‘रेणु दाहाल हराउनकै लागि विपक्षीहरुले ठूला योजना बुने तापनि भरतपुरमा असफल भएको छ । हामी अब मतदाताले दिएको जिम्मेवारी पूरा गर्न लाग्ने छौं ।’ उनले भनिन् ।
त्यसैगरी, उपमेयरमा नवनिर्वाचित नेपाली कांग्रेसका चित्रसेन अधिकारीले भरतपुर महानगरको चौतर्फी विकासको लागि आफुले सहयोगी भुमिका खेल्ने बताएका छन् ।