काठमाडौं-मेचीनगर नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका गोपालचन्द्र बुढाथोकी विजयी भएका छन् । उनीसँग नेपाली काँग्रेसका इन्द्रबहादुर बुढाथोकी पराजित भएका छन् । एमाले उम्मेदवारले २६ हजार ४७८ मत ल्याउदा इन्द्रबहादुरले २१ हजार ३११ मत ल्याएका छन् ।
प्रदेश समितिको निर्णयलाई उल्ट्याउँदै नेपाली काँग्रेस केन्द्रीय संसदीय बोर्डले मेचीनगर नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनाएका इन्द्रबहादुर बुढाथोकी पराजित भएका छन् । महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर समेत रहेको मेचीनगरको प्रमुखको टिकट प्रदेश समितिले जिल्ला उपसभापति केशवराज पाण्डेलाई दिएको थियो ।शवराज पाण्डेलाई दिएको टिकट खोसेर बुढाथोकी काँग्रेसको आधिकारिक उम्मेदवार भएको सभापति शेरबहादुर देउवाले प्रमाणित गरेका थिए ।
यसैगरी उपप्रमुख पदमा एमालेकै मीना उप्रेती २१ हजार ५९० मत पाएर निर्वाचित भएकी छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार प्रकाश भण्डारीले १२ हजार ८१८ मत प्राप्त गरे। महामन्त्री शर्मा गृहनगर वडामा पनि काँग्रेस पराजित भएको छ । शर्माले मतदान गरेको मेचीनगर ९ को अध्यक्षमा एमालेका कञ्चन कुमार तामाङ विजयी भएका छन् ।