नर्भिक अस्पतालले मोडल निशाको उपचारको जिम्मा लिएसँगै निशालाई सहयोग गर्नेहरु बढे — OSNepal

नर्भिक अस्पतालले मोडल निशाको उपचारको जिम्मा लिएसँगै निशालाई सहयोग गर्नेहरु बढे

LC (KTM) June 14, 2021 0

काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा कलाकारलाई समस्या पर्दा सहयोग गर्न गठिन चलचित्रकर्मी कल्याणकारी कोषका तर्फबाट ५१ हजार रुपैयाँ सहयोग गरिने भएको छ । यो रकम उनलाई आइतबार प्रदान गरिने भएको छ ।

चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालका अनुसार निशालाई यस भन्दा अघि पनि बोर्डका तर्फबाट सहयोग गरिएको थियो । यसपटक आर्थिक अभावका कारण उनको उपचार गर्न परिवारलाई गाह्रो भएकापछि आफूले उपचारमा सहयोगका लागि सो रकम प्रदान गर्न लागेको बोर्डले जनाएको छ ।

अध्यक्ष दाहालका अनुसार गम्भीर बिरामी परेका चलचित्रकर्मीलाई उनीहरूको अवस्था हेरेर बोर्डले आर्थिक सहयोग दिने गरेको छ । उनको स्वास्थ्य अवस्थाबारे बुझेर बोर्डले अरू के सहयोग गर्नुपर्ने हो, त्योबारे पनि पहल गर्ने भएको छ ।यस्तै अभिनेत्री करिश्मा मानन्धरले पनि निशाको बुबालाई भेटेर शनिबार २५ हजार रुपैयाँ आर्थिक सहयोग व्यक्तिगत रूपमा प्रदान गरेकी छन् । उनले निशाको स्वास्थ्य अवस्थाबारे जानकारी पनि लिइन् ।

अभिनेत्री रेजिना उप्रेतीले पनि निशालाई शनिबार नै व्यक्तिगत रूपमा १० हजार रुपैयाँ उपचारका लागि आर्थिक सहयोग गरेकी छन् ।राजधानि दैनिकमा खबर छ । रेजिनाले पाँच दिन यताबाट निशाको उपचारका लागि पहल गरिरहेकी छन् । यस्तै अमेरिकामा रहेकी अभिनेत्री उषा पौडेलले २२ हजार रुपैयाँ र प्रकाश थापाले १० हजार रुपैयाँ पठाइदिएको पनि रेजिनाले बताएकी छन् ।

यसैगरी नेपाल म्युजिक भिडियो कलाकार संघले पनि निशाको उपचारका लागि २० हजार रुपैयाँ सहयोग गरेको छ । संघका अध्यक्ष शंकर बिसीसहितको टिम नर्भिक अस्पताल पुगेर सो रकम उनका बुबा प्रेमप्रसादलाई प्रदान गरेको छ । तीन वर्षअघि निशा म्युजिक भिडियोको व्यस्त कलाकार रहेको र उनको यो अवस्था देखेर आफूहरू निकै दुःखी भएको संघका अध्यक्ष एवं कलाकार निर्देशक शंकर बिसीले बताएका छन् ।

बिगत एक वर्षभन्दा लामो समयदेखि उपचार नपाएर घरमै बसेकी निशाको शरीरका नशा सुकेपछि उनको अवस्था झन् गम्भीर भएको हो । तीन वर्षअघि भारतको देहरादुनमा अभिनय पढ्न जाँदा कार दुर्घटनामा परेर टाउकोमा गम्भीर चोट लागेपछि उनलाई त्यहाँ केही दिन र त्यसपछि नेपालमा ल्याएर उपचार गरिएको थियो । गत वर्षको लकडाउनका बेला उनलाई थोरापी गर्नु भनेर अस्पतालबाट घर पठाइएको थियो । त्यसपछिको निरन्तर लकडाउन र आर्थिक अभावले गर्दा उनको थेरापीलगायतका उपचार हुन नसकेको बुबा प्रेमप्रसाद घिमिरेले बताएका छन् । समयमा थेरापी हुन नसकेका कारण उनको शरीरको नशा सुकेको चिकित्सकले बताएका छन् ।

बिगतमा निशाको उपचारमा ३० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेका कारण आर्थिक संकट भएको परिवारले जनाएको छन् । तर, यतिबेला काठमाडौंको नर्भिक अस्पतालले उनको उपचारको जिम्मा लिएको छ । अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उनको उद्धार गरेकी हुन् । उनको अवस्थामा सुधार आउनेमा चिकित्सक विश्वस्त छन् ।

आर्थिक अभावले निशाको उपचार हुन नसकेको खबरबाहिर आएपछि अहिले उनलाई व्यक्तिगत रूपमा विभिन्न सहयोग आइरहेको छ । यस्तै सहयोग गर्न विभिन्न ठाउँबाट फोन आइरहेको पनि बुबाले बताएका छन् । लकडाउन खुलेपछि सहयोग प्राप्त हुने आशा उनको बुबाको छ ।निशाले चलचित्र ‘मधेशीपुत्र २’, टेली सिरियल ‘डियर जिन्दगी’सहित तीन दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर