बारामा विजय जुलुस निकाल्ने क्रममा नेपाली कांग्रेसका कार्यकर्ता र स्थानीयबीच झडप भएको छ । महागढीमाई नगरपालिकामा नेपाली काँग्रेसले निकालेको विजय जुलुसमा झडप भएको हो । जुलुसमा सहभागीले स्थानीयलाई अपशप्द प्रयोग गरेपछि झडप सुरु भएको थियो । झडपमा परेर प्रहरी सहायक निरीक्षक सहित १५ जना घाइते भएका छन् । झडपमा बाराको आदर्शकोतवाल गाउँपालिका–१ चिउताहा घर भएका प्रहरी सहायक निरीक्षक ४० वर्षीय मनोज साह घाईते भएका छन् ।
दिउँसो साढे ३ बजेतिर महागढीमाई नगरपालिकका नगर प्रमुख उपेन्द्र यादव सहितको विजय जुलुस वडा नं २ ईनर्वा टोलमा पुगेको थियो । सोही बेला सहभागीले अपशब्द प्रयोग गरेको भन्दै स्थानीय आक्रोशमा आएका थिए । सोही विषयमा भएको विवादले उग्ररुप लिएर झडपमा परिणत भएको थियो । स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले ६ राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो । झडपपछि मेयर यादव सहितको विजय जुलुसले महागढीमाई क्षेत्र परिक्रमा गरेको थियो । महागढीमाई नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा काँग्रेसले जितेको छ ।