पर्वतका ६१ वडाध्यक्षमा महिलाको सङ्ख्या शून्य — OSNepal

पर्वतका ६१ वडाध्यक्षमा महिलाको सङ्ख्या शून्य

LC (KTM) May 22, 2022 0

पर्वत ८ जेठ । पर्वत जिल्लाको सात स्थानीय तहका ६१ वटा वडाध्यक्षका पदमध्ये कुनैमा पनि महिला निर्वाचित हुनसकेका छैनन् । सबै वडाध्यक्षमा पुरुष नै निर्वाचित भएका हुन् । विहादी गाउँपालिका–१ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी विष्णु खड्का र कुश्मा नगरपालिका–११ पकुवामा गठबन्धनबाटै माओवादी केन्द्रकी लीला दबाडी उम्मेदवार बन्नुभएको थियो । जिल्लाभर दुई जनामात्रै वडाध्यक्षको उम्मेदवार बने पनि पराजित भएका थिए ।

विहादी १ मा नेकपा ९एमाले०का चित्रबहादुर गुरुङसँग खड्का पराजित हुनुभएको हो भने कुश्मा–११ मा पनि एमालेकै बाबुराम पौडेलसँग दबाडी पराजित हुनुभएको हो । अघिल्लो स्थानीय तहको निर्वाचनमा कुश्मा–४ र ५ मा नेपाली कांग्रेसको तर्फबाट क्रमशः मीना कर्माचार्य र चित्रकला शर्मा भारती निर्वाचित हुनुभएको थियो ।

यस पटक भने वडाध्यक्षमा महिलाको सहभागिता शून्य रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । महिला उम्मेदवारको सङ्ख्या नै कम रहेको र महिला उठेका पनि विजयी हुन नसकेकाले ६१ वडाका अध्यक्षमा महिलाको प्रतिनिधित्व हुननसकेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले बताउनुभयो । जिल्लामा एउटा पालिकाले भने महिला नै प्रमुख पाएको छ । मोदी गाउँपालिकामा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएकी हीरादेवी शर्मा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उक्त गाउँपालिकामा एमालेकै उम्मेदवार बिमल लामिछाने पनि उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । गठबन्धनका कारण प्रमुख र उपप्रमुखमा जलजला गाउँपालिकाले महिलालाई पाउन सकेन ।

जलजलाको अध्यक्ष र उपाध्यक्षमा दुवै पुरुष निर्वाचित हुनुभएको छ । कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका राजु आचार्य र माओवादीबाट उपाध्यक्षको उम्मेदवार बन्नुभएका दीपक आचार्य विजयी भएपछि उपाध्यक्षमा महिलाको स्थान गुमेको हो । जिल्लाका बाँकी पाँच स्थानीय तहमा भने उपप्रमुख÷उपाध्यक्ष महिलानै विजयी हुनुभएको छ । फलेवास नगरपालिकामा माओवादी केन्द्रबाट शोभा क्षेत्री, विहादीमा एमालेकी मीना तिवारी, पैँयू गाउँपालिकामा एमालेकै यामकुमारी राना र महाशिला गाउँपालिकामा पनि एमालेबाटै उम्मेदवार बन्नुभएकी धनशोभा विक विजयी हुनुभएको हो । जिल्लाका दुई नगरपालिका र तीन गाउँपालिकमा महिला उपप्रमुख वा उपाध्यक्ष हुनुहुन्छ, भने बाँकी दुई पालिकामा पुरुष उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

नगरप्रमुख तिवारीले आफ्नै गाडी प्रयोग गर्ने

फलेवास नगरपालिकाका नवनिर्वाचित प्रमुख गङ्गाधर तिवारीले आफू शासक हुन नभइ जनताको सेवक बन्नको लागि आएको बताउनुभएको छ । निर्वाचित हुनु अघिसम्म कुनै दलबाट उम्मेदवार भए पनि अब निर्वाचित भइसकेपछि आफूहरू सबै नागरिकको साझा व्यक्ति बन्ने उहाँको भनाइ थियो । शपथ लिएपछि पदभार ग्रहण कार्यक्रममा नगरप्रमुख तिवारीले अघिपछि आफ्ना नेतालाई भेटे पनि सरकारी कार्यालयको ‘गेट’ मा प्रवेश गरेपछि कसैले पनि राजनीति गर्न नपाउने बताउँदै आफैले त्यो कामको सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो,

“पाँच दलीय होइन कि छ दलीय गठबन्धनबाट म निर्वाचित भएको हो । म सबैको साझा व्यक्ति हो । नेपालको नमूना नगरपालिका बनाएर देखाउन सकेमा सबैको चित्त बुझ्न सक्छ” उहाँले भन्नुभयो, “म पैसाको लागि नगरप्रमुख भएको होइन आफ्नै खर्चमा भए पनि जनताको सेवा गर्न पाए मेरो लागि सौभाग्य हो । म जनताको सेवा गर्न आएको हुँ शासक हुन होइन ।”

नगरप्रमुख तिवारीले नगरपालिकाको मोबाइल सेट प्रयोग नगरे पनि सिम भने प्रयोग गर्ने तर त्यसको रिचार्ज पनि आफ्नै खर्चले गर्ने, निजी सवारी साधन प्रयोग गरेर नगर प्रमुखले चढ्न पाउने गाडी समस्यामा परेका नागरिकको उद्धार, राहत र सहयोगमा प्रयोग गर्ने बताउनुभयो ।

फलेवासकै उपप्रमुख शोभा क्षेत्रीले पनि शपथ तथा पदभार ग्रहण गर्दै आफू जनताकै माझबाट आएको एउटा प्रतिनिधि भएका कारण जनताकै सुझावको आधारमा काम गर्ने बताउनुभयो । नागरिकले देखाएकै बाटोमा आफू जाने र त्यसका लागि उत्पादनमा आधारित अनुदान, किसानलाई सहज सेवा, कार्यालय सञ्चालन छिटोछरितो र नगरभित्र यातायातको सुविधालाई व्यवस्थित गर्नेलगायत महत्वपूर्ण योजना आफूमा रहेको उहाँको भनाइ थियो ।
मोदी गाउँपालिकाकी अध्यक्ष हीरादेवी शर्माले पनि पदभार ग्रहण गर्दै जनताको साथमा रहने प्रतिबद्धता जनाउनुभयो । त्यसका लागि आगामी दिनमा सुत्केरीलाई ओसारपसार गर्न निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने घोषणा गर्नुभयो ।

महिलाको स्वास्थ्यलाई मध्यनजर गर्दै आर्थिक अवस्था कमजोर हुने परिवारले समयमा उपचार पाउन नसक्ने भएकाले यस्तो सहयोग कार्यक्रमको घोषणा गरिएको उहाँको भनाइ थियो । सोही गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेले स्थानीय सरकार जनताको पहिलो सरकार भएकाले जनताको आधारभूत आवश्यकता पूरा गर्नका लागि पनि यस्तो घोषणा गरिएको उल्लेख गर्नुभयो ।

गाउँपालिकाभित्रका विपन्न तथा गरिब जनताले यस्तो सुविधाबाट प्रत्यक्ष लाभ लिन पाउने भन्दै उहाँले वर्तमान पदाधिकारी गाउँपालिका गरिब, निमुखा र विपन्न परिवारको हित र भलोको लागि सधैँ तत्पर रहने बताउनुभयो । सदरमुकामसमेत रहेको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले दोस्रो पटक पनि चुनाव जित्नु भएको छ । उहाँले अघिल्लो कार्यकालमा जनताले सोचेका तर आफूले गर्न नसकेका कामहरू गर्ने प्रयासमा रहने बताउनुभयो ।

पहिलो कार्यकालमा पूर्वाधार विकासका ठूला काम गर्दा नागरिकका साना मागको सम्बोधन हुन नसकेका कारण यस पटक जनताले प्रत्यक्ष देख्ने र अनुभव गर्ने खालका काम गर्ने नगरप्रमुख जोसीले बताउनुभयो । जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले कृषि उत्पादनको निर्यातबाट नागरिकलाई समृद्धिको बाटोमा लैजाने सपना देखेको बताउनुभएको छ । उत्पादनका लागि उर्वर जमिन रहेको जलजलाले उत्पादनमा नै जोड दिने हो भने सामान्य नागरिकको दैनिक जीवन पनि सहज बन्ने अवस्था रहेकाले जग्गा बाँझो नराख्ने, केही न केही उद्यममा नागरिकलाई जोडने, सडक, स्वास्थ्य र शिक्षामा गुणस्तर कायम गर्नेलगायत योजना आफ्नो रहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर