कास्की, ८ जेठ -स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३१ गतेदेखि पोखरा महानगरपालिकाको मतगणना सुरु भएकामा हालसम्म एक लाख चार हजार २१२ मतगणना सकिएको छ ।
पोखरामा आज दिउँसो १ः०० बजेसम्मको मतमतगणनाको अद्यावधिक विवरणानुसार सत्ता गठबन्धनबाट प्रमुखका उम्मेदवार नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्यले आफ्नो अग्रतालाई कायमै राख्नुभएको छ । आचार्य अहिलेसम्म तीन हजार ३९५ मतले अघि हुनुहुन्छ । आचार्यले ४१ हजार ७०५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रत्याशी नेकपा(एमाले)का कृष्णबहादुर थापाले ३८ हजार ३१० मत ल्याउनुभएको छ ।
यसैगरी महानगरको उपप्रमुखमा भने नेकपा(एमाले)का उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता छ । गुरुङले ४३ हजार ६१६ मत प्राप्त गरी अग्रता बनाउँदा उहाँका निकटतम प्रत्याशी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाटको ४१ हजार ९२० मत रहेको छ । उपप्रमुखमा एक हजार ६९६ मतान्तर छ ।
वैशाख ३० गतेको निर्वाचनमा पोखरामा एक लाख ४३ हजार २२६ मत खसेको थियो । महानगरका ३३ वडामध्येमा अहिले वडा नं १०, ११, १६, १७, १८, १९, ३९, ३० र ३१ नं को मतगणना भइरहेको छ । गणना बाँकी रहेका वडामा २१, २२, ३२ र ३३ नं रहेका छन् । हालसम्म २० वटा वडाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।