पहिराले सयौँ घरपरिवार विस्थापित भएको बारेकोटमा यस वर्ष ज्यान जोगाउन पालकै सहारा — OSNepal

पहिराले सयौँ घरपरिवार विस्थापित भएको बारेकोटमा यस वर्ष ज्यान जोगाउन पालकै सहारा

LC (KTM) June 14, 2021 0

जाजरकोट,- गत असार २५ गते राति गएको पहिराले मानवीय क्षतिसँगै सयांै घरपरिवार विस्थापित भएको बारेकोट गाउँपालिका–४ मा अझै घर टहरा निर्माण गरिएको छैन । वडा नम्बर ४ मा मात्र ७३ घरपरिवार पहिराका कारण विस्थापित भएपनि यो आर्थिक वर्षभित्र घर निर्माणको कुनै सुरसार नहुँदा यस वर्ष पनि उनीहरुले पालकै ओत लाग्नुपर्ने भएको छ । ज्यान जोगाउनका लागि सुरक्षित ठाउँमा पाल टाँगेर ज्यान बचाउने अभियानमा लागेको सार्कीटोलका करबीर सार्कीले बताउनुभयो । “हिउँद याममा जसोतसो घरेर भत्किएकै ठाउँमा बसेका थियौँ, अब फेरि वर्षा लागिसक्यो, यस वर्ष पनि पालकै भरमा बस्नुपर्ने भयो”, सार्कीले भन्नुभयो, “गाउँलेहरु मिलेर गहिरो भएको ठाउँमा पालहरु टाँगेर बस्ने ठाउँ बनाइरहेको छौँ ।”

वडाध्यक्ष सिर्जना बस्नेतका अनुसार तलगाउँका सर्वसाधारणलाई सिँजा बस्ती, बोहोराजिरीका लागि लेखीपर्छा, सार्कीटोलका लागि आर्रेगैरा, मैना र ठकुरीटोलको लागि दहमा पाल टाँगेर सुरक्षित रुपमा बस्न आग्रह गरिएको छ । तीन दिनअघि वडास्तरीय विपद् व्यवस्थापन समितिको बैठकबाट निर्णय गरेर सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको वडाध्यक्ष बस्नेतले जानकारी दिनुभयो । “वर्षेनी ज्यान जोगाउन आफ्नो बासस्थान छोड्नु पर्ने बाध्यताले मन भारी भएर आउँछ, घर निर्माण कहिले हुन्छ थाहा छैन”, विस्थापित मनबीर सार्कीले भन्नुभयो । त्यस्तै अर्का पहिरोमा परी बाबु गोपाल सार्कीलगायतका आफन्तहरु गुमाएका कृषण सार्की पीडा सहन नसक्दा अहिले मदिरा सेवन गर्ने लतमा लागेको मनबीरले बताउनुभयो । आफन्त गुमाउनुको पीडा मानसिक रुपमा नै परेको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । कृषणले पनि गाउँलेहरुसँग मिलेर आर्रेगैरामा पाल टाँगेर बस्ने ठाउँ बनाएको उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयबाट प्राप्त रु पाँच लाख र विभिन्न सङ्घसंस्थाले दिएको रकमबाट सार्कीटोलमै घर बनाएका कृषणले यो पटक पनि नयाँ घरमा बस्न नपाएर आर्रेगैरामै पाल टाँग्नु परेको छ । प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहको पहलमा रु १० लाखको तारजाली राखेर सार्कीटोलमा आएको पहिरो नियन्त्रणको काम भएको अध्यक्ष बस्नेतले बताउनुभयो । त्यस्तै यसै वर्षभित्र निर्माण गर्ने भनिएका सुरक्षित आवास कार्यक्रमभित्रका १०० घर निर्माणको काम अर्को वर्ष सरेको छ । भूगोलको विस्तृत अध्ययन प्रतिव्दन(डिपिआर) तयार गर्न समय लागेका कारण यो आर्थिक वर्षमा घर निर्माणको काम अगाडि बढ्न नसकेको हो । वडा नं. ४ सार्कीटोलमा १२ जनाको मृत्यु भएको थियो भने वडा नं ६ धुमा गाउँमा दुई जनाको मृत्यु भएको थियो । गाउँपालिकाभरि एक हजार २०० घरधुरी विस्थापित भएका थिए । रु १२ करोडभन्दा बढीको क्षति भएको थियो ।

गर्भवती, सुत्केरी र बालबालिकालाई समस्या:- यस वर्ष पनि विस्थापित भएर पालमा बस्न बाध्य भएका सर्वसाधारणले गर्भवती, सुत्केरी र बालबालिकालाई समस्या भएको बताएका छन् । बारेकोट–४ की पार्वती सार्कीले भन्नुभयो, ‘‘हामी साह्रै समस्यामा छौँ, वर्षेनी पालमै बास होला जस्तो छ ।’’ पहिराको त्रासले घर छोडेर पालमा बस्न लागेको आज दुई दिन भइक्यो, अझै कति बस्नु पर्ने हो ? ”अघिल्लो वर्ष गाउँपालिकाका अनुसार छ हजार ५०७ जना विस्थापित भएका थिए ।

यहाँका ५६ घरहरु जगसँगै भत्किएका थिए पालको बसाइले स्वास्थ्यमा विभिन्न किसिमका स्वास्थ्यमा समस्य आउनेप्रति विस्थापितहरु चिन्ता व्यक्त गर्दछन् । सुुत्केरी, गर्भवती र बालबालिका निकै जोखिममा रहेका छन् । पोषणयुक्त खानेकुरा खान नपाउँदा उनीहरु कुपोषणको शिकार हुने खतरा रहेको छ । जङ्गली जनावार तथा वर्षायाममा पानीको भलले गर्दा कसरी सुरक्षित हुने भन्ने चिन्ता बढेको छ । पालको बसाइसँगै खानेपानी र शौचालयको समेत समस्या पर्ने देखिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर