काठमाडौं ६ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले व्यापार घाटा कम गर्न दशक केन्द्रित कार्यक्रम ल्याउन अर्थमन्त्री जनार्दन शर्मालाई सुझाएका छन् ।
शुक्रबार बसेको संसद बैठकको प्रिबजेट छलफलमा भाग लिँदै सांसद थापाले स्वदेशी उद्योग र उत्पादनको प्रबर्धनका लागि १ दशकको लक्षित कार्यक्रम ल्याउनु पर्ने सुझाव दिएका हुन् ।
नेपाली बजारमै उत्पादन हुनसक्ने सामानहरू पनि विदेशबाट आइरहेको बताएका उनले विदेशबाट आउने सामानको पनि न्यून मूल्यांकन हुँदा समेत सरकारले पर्याप्त राजस्व लिन नसकेको बताएका छन् ।
‘त्यसैले विदेशबाट आउने सामानलाई राजस्वको दायरमा ल्याउने र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिनुपर्छ’ थापाले भने ।
नेपाल मान्छे बेचेर मालसामान किन्ने देशमा परिणत भएको बताएका थापाले आयात प्रतिस्थापनलाई व्यवहारिक एजेण्डा बनाउनुपर्नेमा जोड दिएका छन् ।