विराटनगर, ६ जेठ : मोरङको ग्रामथान गाउँपालिकामा नेपाली कांग्रेस तथा उर्लाबारी नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । ग्रामथानको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारु सात हजार ६०५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा एमालेकी गुणावतीदेवी थारु ६ हजार १२३ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी भुखनीकुमारी माझीले पाँच हजार ४४८ मत प्राप्त गर्नुभएको छ । सात वडा रहेको यस पालिकामा पाँचमा एमाले तथा एक÷एकमा कांग्रेस र माओवादी केन्द्र विजयी भएका छन् ।
उर्लाबारीमा एमाले – उर्लाबारी नगरपालिकाको प्रमुखमा एमालेका गङ्गाप्रसाद खरेल १२ हजार १५६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्गबहादुर फागोले १० हजार २९० मत प्राप्त गर्नुभएको छ ।
उपप्रमुखमा एमालेकी मीनाकुमारी खतिवडा १० हजार ७२८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सीता कार्कीले १० हजार ६४० मत प्राप्त गर्नुभएको छ ।
नौ वडा रहेको उर्लाबारीमा पाँचमा एमाले र चारमा कांग्रेस विजयी भएको छ । मोरङमा ६ स्थानीय तहको मत परिणाम घोषणा हुन बाँकी रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । (रासस)