बुटवल, ३ जेठ :
मत गणनामा बसेका गणक र नेपाली कांग्रेसका प्रतिनिधिबीच विवाद भएपछि तिलोत्तमा नगरपालिकाको मतगणना रोकिएको छ । कांग्रेसले मतगणनामा एमालेनिकट कर्मचारी धेरै रहेको र जसरी पनि कांग्रेसलाई हराउन कर्मचारीले धाँधली गर्न लागेको आरोप लगाउँदै आएको छ ।
अहिले मतगणना स्थल बाहिर कांग्रेस कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । उनीहरूले जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्या भण्डारी चढेको गाढीमा ढुंगा प्रहार समेत गरेका थिए । वडा नम्बर १६ र २ को मतगणना भइरहेकोमा मत संख्याबाहिर सार्वजनिक गर्ने बेलामा वास्तविक मतभन्दा एमालेको धेरै मत बताएको नेपाली कांग्रेसको आरोप छ ।
निर्वाचन कार्यालयले भने मत गणनाको मत संख्या गणक र दलका प्रतिनिधिबाट हस्ताक्षर गराएर मात्रै राख्ने गरिएको जनाएको छ ।
एमालेले भने नेपाली कांग्रेसले विगतमा जितेका वडाहरूमा पराजय हुने अवस्था देखिएपछि मत गणना बिथोलेर निर्वाचन जित्ने दाउमा रहेको जनाएको छ । ‘आफूहरूले निर्वाचन हार्दै जान थालेपछि गृहमन्त्रीको आडमा राज्यसत्ता र शक्तिको प्रयोग गरेर निर्वाचन आफ्नो पक्षमा पार्न कांग्रेसले अनेक दाउ गरी रहेको छ’ एमालेका नगरप्रमुख उम्मेदवार मोहन चापागाईले भने ।
तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका रामकृष्ण खाण गृहमन्त्री बालकृष्ण खाणका सहोदर भाई हुन् ।
मत गणनापछि संख्या टिपोट गर्ने क्रममा गणक र पार्टी प्रतिनिधिकाबीच मत संख्यामा फरक पर्न गएकोले वास्तवित तथ्यांक हेरी गणना अगाडि बढाउने समहति भएको निर्वाचन अधिकृत माधव लोहनीले बताए । मतगणना सूचारु गर्ने सहमति भएको छ। केही बेरमा गणना सुरु हुन्छ’ लोहनीले भने।