गोरखा, २ जेठ :
गोरखा नगरपालिका वडा नम्बर ८ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ऋषिराम खत्री विजयी भएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार कृष्णबहादुर केसीलाई ३ मत अन्तरले पराजित गर्दै खत्री वडाध्यक्ष निर्वाचित भएका हुन् । खत्रीले ७ सय २२ मत प्राप्त गर्दा कांग्रेसका केसीले ७ सय १९ मत प्राप्त गरे ।
४ वडा सदस्यमध्ये खुला २ सदस्य कांग्रेस र महिला र दलित महिला सदस्यमा माओवादी उम्मेदवार विजयी भएका छन् ।
त्यस्तै खोटाङको साकेला गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका रबीप्रकाश राई र उपाध्यक्षमा माओवादी केन्द्रकी बिर्सिका राई विजयी भएका हुन् ।
रबीप्रकाशले १८५० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अर्जुनकुमार खड्काले १७७२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै, बिर्सिकाले २०१२ मत पाउँदा उनका निकटतमप्रतिद्वन्द्वी कांग्रेसका सरिता खड्काले १२२४ मत ल्याएका छन् ।
एमालेका अध्यक्षका उम्मेदवार गोपीकृष्ण खड्काले ९६७ र उपाध्यक्षका उम्मेदवार दिलकुमारी राईले ९८६ मत पाएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट अध्यक्षमा विजयी बनेका खड्का र उपाध्यक्षमा निर्वाचित खड्का भने यस चुनावबाट पराजित भएका छन् । पाँच वडा रहेको गाउँपालिकामा ४९३४ मत खसेकामा ९८ मत बदर भएको छ ।