राउटे युवतीमाथि भएको दुव्र्यवहारको भिडियो युट्युबबाट हटाउन आदेश — OSNepal

राउटे युवतीमाथि भएको दुव्र्यवहारको भिडियो युट्युबबाट हटाउन आदेश

LC (KTM) June 13, 2021 0

सुर्खेत- जिल्ला अदालत सुर्खेतले शुक्रबार राउटे युवतीमाथि भएको यौन हिंसाका भिडियो युट्युबबाट हटाउन आदेश दिएको छ । न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलासले युट्युबबाट भिडियो हटाउनुपर्ने अन्यथा साइट बन्द गर्नुपर्ने अवस्था आउने आदेश गरेको छ । करणीजन्य अपराधका सामग्री गोप्य हुनुपर्नेमा केही युट्युबमा पीडितको पहिचान खुलाएर भिडियो सार्वजनिक भएपछि परेको मुद्दामा अदालतले यस्तो आदेश दिएको हो ।

सामग्री बनाएर अपलोड गर्नेलाई कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमार्फत प्रहरी प्रधान कार्यालयलाई अनुरोध गर्न आदेश गरिएको छ । त्यस्तै अदालतले संवेदनशील विषयमा जथाभावी सामग्री प्रसारण गर्नेविरुद्ध कारबाही गर्न तथा त्यस्ता साइट आवश्यकतानुसार बन्द गराउन गृह मन्त्रालयमार्फत सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई समेत अनुरोध गर्न आदेश दिएको छ ।

निषेधाज्ञामा साइबर अपराध बढ्दो:- राउटे दुई युवतीको घटना प्रतिनिधि घटना मात्रै हो । दिनदिनै यस्ता अपराधका घटना बढ्दै गएका देखिएको छ । कोरोना भाइरसको सङ्क्रमणको दोस्रो लहरबाट नागरिकलाई बचाउनका लागि सरकारले गरेको निषेधाज्ञामा साइबर अपराध बढेको देखिएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्याङकअनुसार पछिल्लोपटक जारी निषेधाज्ञामा साइबरसँग सम्बन्धित अपराध २० प्रतिशतले बढेको छ । विशेष गरी किशोर–किशोरी, बालबालिकालक्षित अपराध बढेको प्रहरीको अनुसन्धानले देखाएको छ । यो अवधिमा साइबर अपराधसम्बन्धी १४५ ओटा जाहेरी परेका छन् ।

यस्तो अपराधको निसानामा विशिष्ट व्यक्तिसमेत परेका छन् । सामाजिक सञ्जालमा विशिष्ट व्यक्तिको टाउकोसँग अरूको शरीर जोड्ने, युगल जोडी बनाइदिने, नक्कली हस्ताक्षर प्रयोग गर्नेजस्ता घटना भएका छन् । साइबरसम्बन्धी कानून ल्याएर यस्ता खालको गतिविधि रोक्नुपर्छ । पछिल्लो समय सार्वजनिक पदमा रहेका महिलाको चरित्रहत्याका घटना पनि सार्वजनिक भइरहेका छन् । घुमन्ते जीवन बिताउँदै आएका राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्नेलाई कडा कारबाही गर्नपर्ने र सासाजिक सञ्जालबाट यौनहिंसाको भिडियो हटाउनुपर्ने माग भने सर्वत्र गरिएको छ । सीमान्तकृत समुदायका महिलाको सोझोपनको फाइदा उठाउने पीडकलाई कानूनमा व्यवस्था भएको भन्दा पनि थप सजाय गर्नुपर्ने मागसमेत नागरिकहरुले सामाजिक सञ्जालमार्फत गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर