बागलुङको तमानखोला गाउँपालिकामा एमाले चोईटिएर बनेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्षले लज्जास्पद मत ल्याएका छन् । पाँच दलीय गठबन्धन बाट उपाध्यक्षका उम्मेद्धार बनेका नेकपा एकीकृत समाजवादीका तारानाथ सिर्पालीले जम्मा एक मत मात्रै पाएका छन् । गठबन्धनले जिल्लाभर भागबण्डा गर्दा समाजवादीलाई तमानखोलामा उपाध्यक्ष परेको थियो।
उपाध्यक्षमा उम्मेदवारी दिएका उनले कलम चिन्हमा एक मत मात्रै प्राप्त भएको निर्वाचन अधिकृत लालप्रसाद लामिछानेले जानकारी दिए। यो एक मत उनको आफ्नै रहेको सहजै अनुमान लगाउन सकिन्छ । जिल्ला तहबाट गठबन्धनमा सहमति गरिए पनि तमानखोला गाउँपालिकामा सहमति विपरित नेपाली कांग्रेस र माओवादी केन्द्रले समेत उपाध्यक्षमा छुट्टाछुट्टै उम्मेदवार उठाएका थिए।