देशभरका स्थानीय तहको मत परिणाम आउन सुरु गरिसकेको छ । कतिपय स्थानको मतगणना अन्तिम चरणमा रहेका छन् भने कतिपय स्थानमा मतगणना कार्य जारी रहेको छ । यसैक्रममा पछिल्लो जानकारी अनुसार सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल अघि देखिएका छन् । हमालले ६१८ मतका साथ अन्य दलका उम्मेद्धारलाई पछि पार्दै अग्रता कायम राखेका छन् ।
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले ३९८ मत पाएका छन् भने नेकपा एमालेका मेयर पदका उम्मेदवार रणबहादुर चन्दले ५३ मत मात्रै प्राप्त गरेका छन् । त्यस्तै उपमेयरमा सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार शान्ति अधिकारीले अग्रता बनाएकी छिन् । उनलाई स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले पछ्याइरहेका छन् । अहिले सम्मको अवस्थामा धनगढीमा १३५३ मत गणना भईसकेको छ ।