अधिकांश महानगरको मतगणना कछुवाको गतीमा भईरहेको छ । काठमाण्डौ महानगरपालिका ,पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका, ललितपुर महानगरपालिकाको मतगणना एकदमै सुस्त भईरहेको हो । झन् काठमाण्डौ महानगरपालिकाको मतगणनाका बिषयमा त सामाजिक सञ्जालमा ट्रोल नै बनिरहेको छ । एउटा मत गणना गर्न २० मिनेट सरदर लाग्दा खसेको मत गनिसक्न करिबन ६ बर्ष लाग्ने भन्दै हिसाब सहितको ट्रोल बनिरहेको हो ।
बिहान साढे ९ बजे बाट सुरु भएको काठमाडौँ महानगरपालिकाको मतगणना बेलुका ११ बज्दासम्म ३ हजार सय मत समेत गनिएको छैन। मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् । उनले ७६८ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५५० र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जंना सिंहले ४२१ मत पाएकी छन् । त्यस्तै राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले १०५ र विवेकशील साझा पार्टीकी समीक्षा बाँस्कोटाले १६ मत पाएकि छिन् ।
महानगरको ३२ वडामा एक लाख ९० हजार मतदाताले मतदान गरेका छन्। यता निर्वाचन आयोगले भने ६ दिनभित्र मत परिणाम सार्वजनिक गर्ने दाबी गरिरहेको छ ।काठमाडौँ जस्तै अन्य महानगरको मतगणना पनि उस्तै सुस्त देखिएको छ । भरतपुर महानगरपालिकामा बल्ल १२५० मत गनिएको छ। ललितपुर महानगरपालिकाको पाँच सय मत गनियो। उता पोखरा महानगरपालिकाको अवस्था पनि कछुवाकै चालमा देखिएको छ ।