काठमाडौं २७ वैशाख । पर्वत जिल्लाको फलेवास नगरपालिकाको प्रमुख पदमा गठबन्धनबाट नेपाली कांग्रेसका नेता गंगाधर तिवारी र उपप्रमुखमा नेकपा माओवादीकी नेतृ शोभा क्षेत्रीको उम्मेदवार परेको छ ।
जिल्लाको कुश्मा नगरपालिका पछिको दोस्रो नगरपालिका रहेको फलेवास नगरपालिकामा नेकपा एमालेबाट निवर्तमान नगरप्रमुख पदमपाणी शर्मा र उपप्रमुखमा पनि निवर्तमान उपप्रमुख मञ्जु अधिकारी प्यासीले नै कार्यकाल दोहोराउने गरी उम्मेदवारी परेको छ ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनबाट चुनिएर आएका जनप्रतिनिधिहरूले नगरबासीलाई नगरपालिकाको अनुभूति हुने गरी कामहरू गर्ने प्रयास गरेको भए पनि ग्रामीण क्षेत्रहरू समेटेर बनाइएको नगरपालिका भएका कारण सबै क्षेत्रमा समानुपातिक विकास हुन नसकेको कारण स्थानीय तहको निर्वाचन फेरि हुन लागेको हो ।
गठवनधनबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरुले भने आगामी पाँच वर्षको कार्यकालमा नगरपालिकामा गर्न सकिने प्रारम्भिक कार्यहरू बारेमा प्रतिबद्धता सार्वजनिक गरिसकेका छन् ।
गरपालिकाको केही भाग मात्रै अर्ध सहरी रूपमा रहेको र अरू सबै ग्रामीण बस्ती रहेका कारण ठुला सपना बाँड्नुको सट्टा नागरिकले अनुभूति गर्न सक्ने खालका कामहरू मात्रै यसमा समेटिएको गठबन्धनका उम्मेद्वारहरु बताएका छन् ।
सामाजिक सुरक्षा
नगर प्रमुखको हैसियतमा पाउने सवारीलाई नगरपालिकाभित्र आउने आपतकालीन कार्यमा उद्धार तथा नागरिकको सहयोगका लागि प्रयोग गरिने जारी प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
प्रतिवद्धता पत्रमा नगरपालिकामा छुट्टै कोष स्थापना गरेर नगर प्रमुखले प्राप्त गर्ने मासिक तलब, बैठक भत्ता लगायत राज्यबाट प्राप्त गर्ने रकमलाई सोही कोषमा राखेर नागरिकको लागि खर्च गरिने कुरा समेत उल्लेख गरिएको छ ।
नगरभित्र रहेका विदुर पुरुषहरूलाई दिने गरिएको सामाजिक सुरक्षा भत्तामा समय सापेक्ष समायोजन गर्ने, ज्येष्ठ नागरिकहरूको मर्यादित जीवनयापनका लागि एकीकृत सेवा आश्रम सञ्चालनमा ल्याइने, अपाङ्गतामैत्री सार्वजनिक पूर्वाधार निर्माणलाई अनिवार्य गरिने, नगरभित्रका अपाङ्गता भएका, अनाथ तथा हिंसापीडितहरूका लागि सुरक्षित घरको व्यवस्था गरिने बताइएको छ ।
कृषि, उद्यमशीलता तथा रोजगारी
नगरका ११ वटै वडाहरू कृषिमा निर्भर रहेको फलेवासलाई कृषिमा अब्बल बनाउने योजना प्रतिबद्धता पत्रमा राखिएको छ। त्यसका लागि ‘एक परिवार ः एक उद्यम वा रोजगारी’ लाई ग्यारेन्टी गरिने, कृषि र पशु बिमा निःशुल्क गरी हरेक व्यावसायिक किसानलाई ‘उत्पादनका आधारमा अनुदान’ को व्यवस्था मिलाइने, हरेक वडामा किसान क्लब गठन गरी कृषिजन्य उत्पादनको सङ्कलन केन्द्र सञ्चालनमा ल्याइने, सोही क्लब मार्फत कृषिजन्य उत्पादनको बजारीकरण गरिने, भूगोल अनुसारको एकीकृत र व्यावसायिक कृषि उत्पादनमा आवश्यकता अनुसार अनुदानको व्यवस्था गरिने, नगरभित्रका हरेक ठाउँको माटो र हावापानीको अध्ययन गरी सोही अनुसारको कृषि उत्पादनमा प्रोत्साहन गरिने, अति विपन्न र भूमिहीन परिवारलाई आवास तथा खाद्यान्नको व्यवस्था गरिने कुरा घोषणापत्रमा राखिएको छ।
यस्तै, नगरभित्र बाँझो रहेको खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गरी नगरपालिकाले नै भाडामा लिएर बिपन्न परिवारका लागि उत्पादनमा लगाइने, कृषि, पशु सेवा, खानेपानी, सिँचाइ, पर्यटन, उद्योग व्यापारका लागि एक द्वार एकीकृत सेवा केन्द्र सञ्चालन गरिने, निजी क्षेत्रका उद्यमी र व्यवसायीहरूको उन्नति तथा सामुदायिक उत्तरदायित्वको आकारमा विस्तार गरिने, साना तथा घरेलु उद्योग, कृषि तथा खनिज प्रशोधन र पर्यटन केन्द्रको स्थापना गरिने, सबै नागरिकलाई मर्यादित पेसा÷व्यवसायमा संलग्न हुने वातावरण निर्माण गरिने, सिचाइको समस्या भएको ठाउँमा सिँचाई सुविधा उपलब्ध गराउने कुरालाई प्राथमिकतामा राखिएको छ।
बेरोजगार युवा लक्षित व्यावसायिक तथा सीपमूलक तालिमहरू सञ्चालन गरिने, कृषि उद्यममा युवाहरूलाई प्रोत्साहन गर्नको लागि सुलभ दरमा बैङ्कबाट ऋण उपलब्ध गराउने प्रबन्ध गर्ने, आमा तथा युवा समूहमार्फत ‘एक समूह ः एक उत्पादन’ कार्यक्रम लागू गरिने, सडकको छेउछाउमा तथा खाली रहेका जमिनमा फलफूल खेती तथा बोटबिरुवा रोपी सडकको संरक्षण, वातावरण प्रवर्द्धन र कृषि उत्पादनमा वृद्धि गर्न स्थानीय बासीलाई आवश्यक सहयोग गर्ने तथा मल र बीउको सहज उपलब्धताका लागि सहकारीमार्फत कृषि सामग्रीहरू वितरणको व्यवस्था गरिने पनि प्रतिबद्धता पत्रमा राखिएको छ।
स्वास्थ्य
आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सर्वसुलभ बनाइने लक्ष्य राखेको गठबन्धनको घोषणापत्रमा ‘स्वच्छ फलेवास ः स्वस्थ फलेवासवासी’ कार्यक्रम मार्फत नागरिकको मासिक रूपमा घरमै स्वास्थ्य परीक्षण गरी आवश्यकता अनुसार औषधीको व्यवस्था गरिने महत्त्वाकाङ्क्षी योजना राखिएको छ।
यस्तै, नगरभित्र कम्तीमा पनि एक सय शय्या क्षमताको अस्पताल सञ्चालनमा ल्याइने, गर्भवती, सुत्केरी र शिशुको पोषणको लागि विशेष कार्यक्रम ल्याइने, विपन्न परिवारलाई निःशुल्क र आम नागरिकलाई अनिवार्य स्वास्थ्य बिमाको व्यवस्था गर्ने भनिएको छ।
पूर्वाधार
२-४ ठाउँमा मात्रै कालोपत्रे सडक देख्न पाइने फलेवासका सबै वडाका सडकहरूमा बर्खा याममा समस्या हुने गरेको छ। पहाडी क्षेत्रका ओराला र ठाडा सडकहरू वर्षाको भेलका कारण बिग्रिँदा नागरिकले सास्ती पाउने गरेका छन्।
यही समस्याको समाधानको लागि नगरपालिकाले खरिद गरेको डोजरलाई नागरिकको मागअनुसार आवश्यक परेको ठाउँमा यथाशक्य छिटो पठाउने व्यवस्था गर्ने भनिएको छ।
यस्तै, सङ्घ तथा प्रदेश सरकारसँगको सहकार्यमा नगरभित्रका ११ वटै वडा तथा ती वडाबाट नगरपालिकाको केन्द्र जोड्ने सडकहरूलाई कालोपत्रे गर्न प्राथमिकता दिइने, जनप्रतिनिधिसँग नागरिक अन्तरक्रिया कार्यक्रम गरी उनीहरूको सुझावको आधारमा तत्कालीन तथा दीर्घकालीन महत्त्वका योजनाहरूको काम सुरु गर्ने, नगरबाट प्रदान गरिने सेवालाई विद्युतीय सुशासनको दायरामा ल्याइने, सेवा प्रवाहलाई पेपरलेस बनाउन अभ्यास गरिने, हेलो मेयर कार्यक्रम सञ्चालन गर्ने भनिएको छ।
नगरका लागि पायक पर्ने स्थानहरूमा आवश्यकता अनुसार एम्बुलेन्स र एउटा शव वाहनको व्यवस्था गरिने, पर्यटन पूर्वाधार निर्माण र उद्यमशीलता प्रवर्द्धन गरिने, बाढी, पहिरो लगायतको जोखिममा रहेको बस्ती वा उत्पादनयोग्य क्षेत्रको संरक्षणको लागि बाँध, तटबन्ध, ग्याबीन जाली भर्ने लगायतका कामहरू गरिने, नगरभित्रका वडाहरूमा आउजाउ गर्नको लागि सहज र सर्वसुलभ यातायातको व्यवस्था गरिने पनि प्रतिबद्धता पत्रमा उल्लेख छ।
शिक्षा तथा संस्कृति
‘हातमा काम, गोजीमा दाम र समाजमा नाम’ हुने खालको शिक्षामा जोड दिने बताएको गठबन्धनले हरेक सामुदायिक विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउन आवश्यक पूर्वाधार तथा जनशक्तिको व्यवस्था मिलाउने घोषणा गरेको छ।
यस्तै विद्यालयमा आवश्यक दरबन्दी अनुसारका शिक्षकको व्यवस्था गरिने, नगरभित्रका सामुदायिक क्याम्पसका पूर्वाधार तथा विकासका लागि आवश्यकता अनुसारको सहयोग, अपाङ्गता भएका, अनाथ तथा हिंसापीडितहरूका लागि अनिवार्य तथा निःशुल्क शिक्षा, पाँच वर्ष भित्रमा नगरभित्र थप प्राविधिक तथा व्यावसायिक शिक्षालय सञ्चालन, प्रत्येक वडामा सूचना प्रविधि सहितको सार्वजनिक पुस्तकालय स्थापना, स्थानीय कला, सांस्कृतिक, धार्मिक, ऐतिहासिक सम्पदाको सङ्ग्रहालय स्थापना गरी प्रवर्धन, ऐतिहासिक तथा धार्मिक स्थलहरूको पहिचान गरी ‘एक वडा एक पर्यटकीय स्थल’ निर्माण गर्ने कुरा पनि राखिएको छ।
प्रशासन तथा सुशासन
नागरिकको सहजताको लागि व्यक्तिगत घटनालाई घरबाटै दर्ता गर्ने व्यवस्था मिलाउने, हाल प्रचलनमा रहेको भूमि करको दायरालाई पुनरावलोकन गरिने, स्थानीय सरकारलाई जनउत्तरदायी, भ्रष्टाचारमुक्त र पूर्ण पारदर्शी गराउन नगरको वेबसाइट मार्फत हरेक योजनाको विस्तृत विवरण सार्वजनिक गरिने उल्लेख गरिएको छ ।
गरिने, नागरिकको जनगुनासो अनलाइन मार्फत तत्कालै सुनुवाइ गरिने, फलेवासलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नगरहरूसँग मितेरी सम्बन्ध कायम गरी प्रविधि र अन्य साधन स्रोत भित्राउन पहल गरिने तथा विज्ञ समूहको सुझावको आधारमा नयाँ कामको थालनी गरिने पनि भनिएको छ।
विपद् व्यवस्थापन
फलेवास नगरपालिकामा बाढी, पहिरो र आगलागीको जोखिम अन्य जोखिमको तुलनामा बढी देखिन्छन्।
यसको नियन्त्रणको लागि विज्ञको सुझावको आधारमा जोखिम अनुसार नियन्त्रण कार्य योजना तयार पारेर कार्यान्वयन गर्ने, नगरको मध्य केन्द्रमा रहने गरी वारुणयन्त्र ९दमकल० सञ्चालनमा ल्याइने, सबै वडामा कम्तीमा एउटा सुरक्षा पोस्ट स्थापनामा जोड दिइने, विपद्का बेला सुरक्षित रहन सकिने सेल्टर वा सार्वजनिक भवन निर्माण गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ।
यस्तै महामारीको बेलामा आउन सक्ने जोखिमलाई हेरेर आवश्यक पूर्व(तयारी तथा जनशक्तिलाई तयारी अवस्थामा राख्ने, समस्या आउँदासाथ शीघ्र सेवा सञ्चालनमा ल्याउने, विपद्को बेलामा बालबालिका, ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएकाहरू बढी समस्यामा पर्ने भएका कारण उनीहरूको अवस्थामा विशेष ध्यान दिइने भनिएको छ।
खेलकुद
खेलकुदतर्फ वार्षिक रूपमा नगर प्रमुख रनिङ शिल्ड प्रतियोगिता सञ्चालन, बाल उद्यान, पार्क, खुला हरित स्थल, खेलकुद हल तथा खेलमैदानको निर्माण गरिने भनिएको छ।
यस्तै, फुटबल, भलिबल, टेनिस, क्रिकेट, ब्याडमिन्टन लगायतका खेलहरूको विकासको लागि युवाहरूलाई क्लब स्थापना गरेर खेलकुदको प्रवर्द्धन गर्न प्रोत्साहन गरिने कुरा पनि उल्लेख गरिएको छ।
सरकारी सवारी साधनको दुरुपयोग नगर्ने, वित्तीय अनुशासनको उल्लङ्घन नगर्ने, कानुन विपरीत निर्णय नगर्ने, जातीय तथा लैङ्गिक विभेद नगर्ने, योजनारहित काम नगर्ने, जनगुनासोको बेवास्ता नगर्ने प्रतिबद्धता जनाएको गठबन्धनले रहर लाग्दो र बसौँ बसौँ लाग्ने बस्ती र गाउँ होस्, हरेक जनता स्वस्थ जीवनशैलीबारे सजग रहुन्, गुणस्तरीय तथा निःशुल्क स्वास्थ्य सेवा सहज उपलब्ध होस्, लगायतका चाहाना राखेको जनाएको छ । ्