बालसुधार गृहमा क्षमताभन्दा बढी बालबालिका राख्दा शौचालय जाँदा समेत पालो कुर्नुपर्ने अवस्था — OSNepal

बालसुधार गृहमा क्षमताभन्दा बढी बालबालिका राख्दा शौचालय जाँदा समेत पालो कुर्नुपर्ने अवस्था

LC (KTM) June 12, 2021 0

डोटी, २९ जेठ – सिलगढीस्थित बालसुधार गृहमा क्षमताभन्दा बढी बालबालिका राख्दा समस्या भएको छ । उनीहरुलाई खान, बस्न, स्नानदेखि अन्य कुरा अप्ठ्यारो छ । विसं २०७५ भदौ महिनामा सुदूरपश्चिम प्रदेशभरिका लागि भन्दै सिलगढीमा स्थापना गरिएको उक्त बालसुधार गृहमा २५ बालक बस्न सक्ने क्षमता भए पनि हाल बिभिन्न अपराध जन्य मुद्दाका ४८ बालक बस्दै आएका छन् । अन्य ठाउँमा बाल सुधार गृह नभएका कारण यहाँ राखिएका बालकहरुलाई अड्डा सार पनि गर्न नसकिएको बताइएको छ ।

क्षमताभन्दा दोब्बर बालक राखिएका कारण उनीहरूलाई दैनिक समस्या हुँदै आएको बाल सुधार गृहले जनाएको छ । बाल सुधारगृहमा क्षमताभन्दा बढी बालकहरू राख्दा व्यवस्थापन लगायतका अन्य सेवा सुविधा लुगाकपडा, खान बस्नमा पनि समस्या हुने गरेको बाल सुधारगृह व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ सुधार गृहमा बालक बढी भएका कारण बसाइँ, सुताइ र खानाको व्यवस्थापनमा समस्यादेखि अन्य सुरक्षामा समेत समस्या हुने गरेको छ, बिकल्पका रुपमा केही सोच्नु पर्ने अवस्था आएको छ ।” यतिमात्र नभई बाल सुधार गृहमा बालकहरु बढी भएका कारण उनीहरुलाई शौचालय जाँदा समेत पालो कुर्नु पर्ने अवस्था आइरहेको बताइएको छ ।

यसैगरी बिभिन्न मुद्दाका बढी बालक भएका कारण अदालतमा हाजिर गराउन, फैसला हुँदा पनि थप सुरक्षालगायतका विषयमा समेत समस्या हुने गरेको छ । पछिल्लो समय बाल सुधारगृहको अवस्था र त्यहाँ राखिएका बालक सहित बस्ने ठाउँका बारेमा अनुगमन गरी समस्याका बारेमा लिखित रुपमा माथिल्लो निकायमा जानकारी गराइसकेको उहाँले जानकारी दिनुभयो । बालसुधार गृहमा क्षमताभन्दा बढी बालकहरू भएका कारण व्यवस्थापन पक्षमा उत्पन्न भइरहेको समस्याका विषयमा पटक पटक सम्बन्धित निकायमा जानकारी गराउदा समेत खासै सुनुवाइ नभएकोबाल सुधार गृहका प्रशासकीय अधिकृत सानुमाया लिम्बूले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले बाल सुधार गृहको समस्याका बारेमा पटक–पटक जानकारी दिँइ सकेका छौँ, त्यसको समाधान भने हुन सकेको छैन ।” बाल सुधारगृहमा रहेका ४८ बालकमध्ये १२ जनाको अदालतले फैसला गरिसकेको छ भने अन्य ३६ जनाको हकमा फैसला नभई पुर्पक्षका लागि बाल सुधारगृहमा राखिएको प्रशासकीय अधिकृत लिम्बूले जानकारी दिनुभयो ।

बाल सुधारगृहमा सुदूरपश्चिम प्रदेश र ५ नम्बर प्रदेशका विभिन्न जिल्लाका अपराधिक मुद्धाका बालक राखिएका छन्। सुदूरपश्चिम प्रदेशमा एक मात्र बाल सुधार गृह भएकाले यहाँ बालकको बढी चाप रहेको बाल सुधारगृहका कर्मचारीहरू बताउँछन् । क्षमताभन्दा बढी बालकहरूलाई एकै ठाउँमा राख्नुभन्दा सरकारले देशका विभिन्न स्थानमा बाल सुधारगृह स्थापना गर्नुका साथै भएका बाल सुधारगृहलाई व्यवस्थित बनाउनुपर्ने कानुन व्यवसायी शंकरदीप मडैले बताउनुभयो। उहाँले भन्नुभयो, “गलत काम गरेर सुधारका लागि पठाइएका बालकहरूलाई फेरि दुःख दिनुभन्दा बरु बाल सुधारगृह नै सुधार गरे राम्रो हुने, बाल सुधार गृह व्यवस्थित नभए त्यहाँ राखिएका बालकको मनोवल गिर्न सक्ने तर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी भएको छ ।” कानुनमा दण्डनीय अपराध गरेका कानुनी उमेर नपुगेका बालकलाई अदालती निर्णय गरी जेल पठाउनुभन्दा सुधारगृहमा राखी आचरण सुधार गर्नुपर्ने सरकारको नीति तथा नियमअनुसार देशका अन्य सात जिल्लासहित यहाँ बाल सुधारगृह स्थापना गरिएको हो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर