दोस्रो लहरको शुरुवातमै कोरोनाको केन्द्रविन्दु बनेको बाँकेमा तेस्रो लहरको पूर्वतयारी शुरु — OSNepal

दोस्रो लहरको शुरुवातमै कोरोनाको केन्द्रविन्दु बनेको बाँकेमा तेस्रो लहरको पूर्वतयारी शुरु

LC (KTM) June 12, 2021 0

बाँके- कोरोना महामारीको पहिलो र दोस्रो लहरको शुरुवातमै केन्द्रविन्दु “हटस्पट” बनेको बाँकेमा तेस्रो लहरको पूर्वतयारी शुरु भएको छ । यहाँका स्थानीय तहहरु यतिबेला तेस्रो लहरमा कोरोना भाइरस महामारी तीव्र रुपमा फैलिन सक्ने भएकाले त्यसको सङ्क्रमण रोकथाम तथा प्रतिकार्यका लागि पूर्वतयारी गरिरहेका छन् । बाँकेमा अहिले काोरोना भाइरस सङ्क्रमण र मृत्युदर ह्वातै घटेपनि पुनः तेस्रो लहरको महामारी फैलिन सक्ने भएकाले आवश्यक पूर्वतयारी शुरु गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।

उहाँले तेस्रो लहरको कोरोना महामारी फैलिन नदिन अहिलेदेखिनै योजना बनाएर काम शुरु गरिएको बताउनुभयो । तेस्रो लहरको कोरोना महामारी नियन्त्रण तथा प्रतिकार्यका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री, स्वास्थ्यकर्मी, आइसोलेसन केन्द्र, अस्पताल तथा आवश्यक पर्ने बजेट व्यवस्थापनलगायत सवालमा पूर्वतयारी शुरु गरिएको उहाँको भनाइ छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले फेरि पनि कोरोना महामारी सङ्क्रमण फैलिन सक्ने आशङ्का गर्दै आगामी आर्थिक वर्षको बजेट त्यसतर्फ लक्षित गरेर रोकथाम न्यूनीकरणका कार्यक्रम तय गर्ने भएको छ । त्यसका लागि प्रदेश, केन्द्र सरकार र स्वास्थ्यमा काम गर्ने सङ्घ संस्थासँग समन्वय गरेर आवश्यक पूर्वतयारी गरिएको उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिनुभयो ।जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले तेस्रो लहरको कोरोना महामारीसँग जुध्न जिल्लास्तरमै आवश्यक रणनीति तयार गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले बाँके भारतीय सीमावर्ती जिल्ला भएकोले आवागमनलाई रोक्ने, स्वास्थ्य जाँच बढाउने र स्थानीय तहहरुसँग समन्वय गरेर पूर्वतयारी र योजनाका साथ काम गरिने जानकारी दिनुभयो ।

शुक्रबार बाँकेका तीनवटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ६६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कूल १८४ नमूना परीक्षण गर्दा ती सङ्ख्यामा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ । शुक्रबार भेरी अस्पतालको प्रयोगशालामा १२७ नमूना परीक्षण गर्दा ५६, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा परीक्षण गरिएको ३५ नमूनामा ३ र बागेश्वरी ल्याबमा गरिएको २२ नमूना परीक्षणमा ७ गरि कूल ६६ जना सङ्क्रमित थपिएका हुन् । सङ्क्रमण पुष्टि हुनेहरुमध्ये बाँकेका १० जना छन् । तीमध्ये पाँच महिला र पाँच रहेका छन् । हालसम्म बाँकेमा ८१ हजार ६०८ जनाको पिसिआर परीक्षण गरिएको छ । बाँकेमा कोरोना भाइरस सङ्क्रमणबाट ३०६ र बाहिरी जिल्लाबाट उपचारका लागि यहाँ आएका ३३० जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर