गलेश्वर, २५ वैशाख -बेनी नगरपालिका–५ मा पर्ने पुरण्य गाउँमा १०३ दलित परिवारको वस्ती छ । वस्तीमा २५० भन्दा बढी मतदाता छन् । यति ठूलो वस्तीमा न खानेपानी छ न त घरपिच्छे शौचालय ।सदरमुकाम बेनी बजारदेखि एक घण्टा (करिब ८ किलोमिटर)को दूरीमा रहेको यो वस्ती चुनावको बेला निकै चर्चामा रहन्छ । नेताहरुको आजजाउ बाक्लै गरी हुन्छ । आश्वासन र वाचा सुनेर यहाँका सोझासाझा दलित मतदाताहरु मख्ख पर्छन् ।
चुनावको बेला मात्र यहाँ नेताहरु आउँछन् र समस्याबारे सोध्छन् । स्थानीयवासीको वर्षौंदेखिको माग हो – खानेपानी । आफू र आफ्नो पार्टीलाई भोट दिए खानेपानीको समस्या समाधान गरिदिने वाचा गर्न जो कोही उम्मेदवारले छुटाउँदैनन् भन्दा हुन्छ । यस अतिरिक्त विद्यालयलाई व्यवस्थित बनाई स्तरोन्नति गरिदिने, घरघरमा शौचालय निर्माण गरिदिने, गरीब र मजदूरलाई रोजगारीको अवसर दिने लगायतका थुप्रै आश्वासन दिन्छन् । उनीहरुकै भोटको बलमा चुनाव जित्छन् । जितेपछि भने मतदातासँग गरेका वाचा पूरा गर्नु त कता हो कता अर्को चुनाव नआउञ्जेलसम्म फर्केर आउँदैनन् ।
पुरण्य गाउँको यो वास्तविकता सुन्दा धेरैलाई आश्चर्य लाग्नसक्छ । तर, यहाँका वासिन्दा अझै पनि एक गाग्री पानी लिन १ घण्टा समय खर्चिन पर्ने समस्यामा छन् । दिशा पिसाब गर्न पाखो वा अर्कैको शौचालयमा पालो पर्खनु पर्छ उनीहरुलाई ।विसं २०७४ को स्थानीय तहको पहिलो निर्वाचनमा भोट माग्न गाउँमा आएका राजनीतिक दल र तिनका उम्मेदवारहरुले निर्वाचन पछि दुई महिनाभित्रै खानेपानीको समस्या समाधान गरिदिने वाचा गरेका थिए । पाँच वर्ष बित्यो । गाउँमा न खानेपानीको समस्या समाधान भयो न त नेताहरु आएर यहाँका जनताको खैखबर बुझ्ने प्रयास नै भयो ।
साठी वर्षीया गौमती दर्जीले २०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा नेताहरुले दिएको आश्वासन अझै बिर्सनुभएको छैन । बिहान ५ बजे नै उठेर गाग्री बोकी गाउँको पुछारमा रहेको धारोमा पानी लिन जाने दमको रोगी दर्जी जहिले पनि आश्वासन दिने नेताहरुको वचन सम्झनुहुन्छ । दर्जी भन्नुहुन्छ – “चुनाव आए नेता आउँछन्, मीठा मीठा आश्वासन दिन्छन् तर, कहिल्यै पनि खानेपानी दिँदैनन् । अबको चुनावमा भोट माग्न आएका नेताहरुलाई पहिला खानेपानी देउ, अनि बल्ल भोट दिन्छौं भनेका छौं ।”
स्थानीय बुद दमाई गाउँमा भोट माग्न आउने नेता र समस्या बुझ्न आउने पत्रकारहरुसँग निकै रुष्ट हुनुहुन्छ । उहाँ भन्नुहुन्छ – “हामीले बोलेर र तपाइँहरुले लेखेरै पनि के भयो र खै ? वर्षौंदेखि हामी समस्यै समस्याले पिल्सिएका छौं । हामी त नेताहरुका लागि भोट मात्र हौं, जनता कहिल्यै भएनौं, यसपालिको निर्वाचनमा पनि धेरै नेताहरु भोट माग्न आएका छन् । हामीले पहिला खानेपानीको समस्या समाधान गर अनि बल्ल भोट दिन्छौं भनेका छौं । हामी अब नेताहरुको बोलीमा मात्रै विश्वास गर्दैनौं ।”उहाँले यही वैशाख २९ गतेसम्म गाउँमा पाइप, बालुवा र सिमेण्ट जसले ल्याइदिन्छ, त्यसैलाई भोट दिने र नल्याइदिएमा मतदान केन्द्रमा गएर मतपत्र खल्तीमा हालेर फर्किने सल्लाह भएको बताउनुभयो ।
त्यसैगरी, पुरण्य गाउँकै तिलु दमाईले अब नेताहरुको आश्वासनको जवाफ रुखो शब्दले दिने बताउनुभयो । उहाँले भन्नुभयो – “हाम्रा लागि जुन पार्टी र जो नेता पनि उस्तै भए, सबै कान चिरेका जोगी जस्ता । भोट पाए पछि कसैले वास्तै गरेन । एक गाग्री पानी लिन एक घण्टा हिड्नु पर्छ, दिशा पिसाब गर्न अझै पनि पाखो र बारीको कुनोमा लुक्नु पर्छ । यसपालि त भोट पनि नदिउँ जस्तो लागेको छ ।”स्थानीय ६८ वर्षीया कालिका दर्जीले गाउँमा रहेको एउटा धारोमा बिहान ४ बजेदेखि नै भीड लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो – “एघार वर्षमा बिहे भएर यो गाउँमा आएकी हुँ । त्यतिबेलादेखिको खानेपानीको सङ्कट जस्ताको त्यस्तै छ ।”
दर्जीको जस्तै समस्या यस गाउँका सबै गृहिणीले भोग्दैआएका छन् । एक गाग्री पानी भर्न एक घण्टा नै लाममा बस्नु पर्ने स्थानीयवासी पार्वती दर्जीको गुनासो छ । “घरको अरु काम गर्नै भ्याइँदैन, बिहान धारामै बित्छ, काममा जाने लोग्नेमान्छे र विद्यालय जाने केटाकेटीलाई खाना पकाएर खुवाउन ढिला हुन्छ,” उहाँले भन्नुभयो “अरु गाउँका घरघरमा धारा छन्, हाम्रो गाउँमा गाउँभरिकै मान्छेका लागि जम्मा एउटा धारो छ ।”
गाउँको माझमा गणेश दर्जीको भत्किनै लागेको घर छ । झट्ट हेर्दा ठाँटी जस्तो देखिने दर्जीको घरमा दुईजना छोराछोरीसहित दर्जी दम्पती बस्ने गर्छन् । पानी पर्दा चुहिने छानो फेर्न नसकेका दर्जी ज्याला मजदूरी गरेर गुजारा चलाउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “घर नामको एउटा छाप्रो छ तर, लालपुर्जा छैन । पैसा नभएर शौचालय समेत बनाउन सकेको छैन । हाम्रो व्यथा कसले बुझिदेला !”बाक्लो वस्ती भएको यस गाउँलाई चुनावका बेला भने राजनीतिक दलका नेताहरुबाट खुब मीठामीठा आश्वासन मिल्ने गरेका तर, ती आश्वासन कहिल्यै पनि वास्तविकतामा परिणत हुन नसकेको स्थानीय अगुवा हीराबहादुर परियारले बताउनुभयो ।
“हामी जहिल्यै पनि राजनीतिक दलहरुका लागि भोट बैंकको रुपमा प्रयोग भयौं, दलित भएकै कारण सबै राजनीतिक दलहरुबाट हेपिँदै आयौं, अहिलेसम्म चुनावको बेला आश्वासन बाहेक अरु केही पाउन सकेनौं,” उहाँले भन्नुभयो । जिल्लास्थित राजनीतिक दलहरुले मात्रै होइन स्थानीय तहका जनप्रतिनिधिहरुले समेत यस गाउँलाई बेवास्ता गर्ने गरेको उनीहरुको आरोप छ ।खानेपानी र मोटरबाटोको मर्मतका लागि कैयन् पटक यहाँका जनप्रतिनिधिलाई गुहारे पनि कहिल्यै सुनुवाई नभएको दुःखेसो स्थानीयवासी लालबहादुर परियारले पोख्नुभयो ।
पुरण्य गाउँलाई समेटेको बेनी नगरपालिका ५ का वडाध्यक्ष लक्ष्मण बानियाँले गाउँमा खानेपानीको समस्या भएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो – “पुरण्यमा खानेपानीको समस्या छ । तर, खानेपानीको स्रोतका अभावमा त्यो समस्यालाई सम्बोधन गर्न नसकिएको हो । उहाँहरुलाई बेवास्ता गरेको भन्ने कुरै आउँदैन । स्रोतको खोजी भैरहेको छ ।” यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार बन्नुभएका यामबहादुर बानियाँले आफू निर्वाचित भए सबैभन्दा पहिला पुरण्यमा खानेपानीको प्रवन्ध मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । (रासस)