कञ्चनपुर, २५ वैशाख – शुक्लाफाँटा नगरपालिका–४ का रामदत्त भट्ट पेशाले मिठाइ बनाउने कारिगर हुन । उहाँ होटेलमा विभिन्न प्रकारका मिठाइ बनाउने कार्य गर्नुहुन्छ । यस कार्यबाटै भट्ट परिवारको खर्च चल्ने गरेको छ । हाल उहाँको दिनचर्या फेरिएको छ । बिहानीपख होटलमा काम गर्नुहुन्छ । दिउँसो र साँझ स्थानीय तहको निर्वाचनमा प्रचारप्रसारको काममा व्यस्त हुनुहुन्छ ।
“श्रम गरी जीविका चलाउने व्यक्तिको जीवतस्तर जस्तो पहिला थियो । अहिले पनि त्यस्तै छ । यसमा कुनै परिवर्तन आउनसकेको छैन” उहाँले भन्नुभयो, “श्रम गर्ने व्यक्तिको जीवनस्तरमाथि उठाउने एजेण्डासहित वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारका रुपमा उम्मेदवारी दिएर निर्वाचनको प्रचारप्रसारका हिँडेको छु ।”
गाउँका अधिकांश बासिन्दा श्रम गरेर जीविका चलाउने भएकाले सबैको भोट पाउनेमा विश्वस्त भएको उहाँ बताउनुहुन्छ । उहाँको चुनावी प्रचारको मुख्य नारा ‘पार्टीले जिते कार्यकर्ताको विकास, स्वतन्त्रले जिते गाउँको विकास’ रहेको छ । वडामा ठूलो समस्याका रुपमा सनबोरा नदीले गर्ने भू–क्षयको रहेको छ । चुनाव जितेमा पहिलो कार्यनै तटबन्ध निर्माण गर्ने रहेको उहाँ जोड दिँदै भन्नुहुन्छ ।
भट्टसँगै वडामा नेकपा(एमाले)बाट वडाध्यक्षका उम्मेदवारका रुपमा ज्ञानबहादुर विष्ट, संयुक्त गठबन्धनका तर्फबाट नेकपा (समाजवादी) का मिठ्ठु राना र नेपाली कांग्रेसका तर्फबाट कमल ठकुल्लाले उम्मेदवारी दिनुभएको छ । राजीनिक दलका वडाका उम्मेदवारले शिक्षा, स्वास्थ्य, रोजगार, खेलकूदसँग सम्बन्धित एजेण्डा अघि सारेका छन् ।
राष्ट्रिय जनमोर्चाका तर्फबाट नगरको ११ वडाको अध्यक्षका उम्मेदवार जनक कँुवर ठेला चालक हुनुहुन्छ । झलारी बजारमा ठेला चलाएर उहाँले घरको गर्जो टार्ने कार्य गर्दै आउनुभएको छ । उहाँ दैनिक ठेला रिक्सामा सिमेन्ट, छडलगायतका निर्माण सामग्री बोक्ने कार्य गर्नुहुन्छ । त्यसबाट पाइने ज्यालाले घरखर्च उहाँ चलाउँदै आउनुभएको छ ।
“श्रम गर्ने व्यक्तिले स्वाभिमानसँग बस्न र खान सक्ने वातावरण कायम हुनुपर्छ” उहाँले भन्नुभयो, “यिनै कुरा र जनजीविका सवाललाई जनता सामु राखेर भोट माग्नका लागि घर दैलोमा जान थालेको छु ।” मतदाताले श्रम गर्ने व्यक्तिका रुपमा बुझेकाले मतदान गरी विजयी बनाउने उहाँको भनाइ छ । उहाँसँगै वडामा नेपाली कांग्रेसका तर्फबाट शेरबहादुर साउद, नेकपा (एमाले)का तर्फबाट भक्तराज जोशी र संयुक्त गठबन्धनका तर्फबाट दिलबहादुर बुढा उम्मेदवार हुनुहुन्छ ।
नगर प्रमुखमा प्रमुख दलका उम्मेदवारसमेत नौला एजेण्डासहित भोट माग्न घर दैलो गर्नमा व्यस्त देखिन्छन् । नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुखको उम्मेदवार चिन्तामणि भट्टले नगरभित्रका ३२ वटै सामुदायिक विद्यालयमा नर्सको व्यवस्था, नागरिक आरोग्य केन्द्र स्थापना र गाउँनगर फार्मेसी स्थापना गर्नेलगायतका एजेण्डा अघि सार्नुभएको छ ।
एमालेका नगर प्रमुखको उम्मेदवार रणबहादुर महराले अति विपन्न तथा गरिब परिवारलाई निःशुल्क नून वितरण गर्ने एजेण्डालाई प्राथमिकता दिनुभएको छ । यससँगै उहाँले अघि सारेका एजेण्डामा एक वडा एक ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना, बाल उद्यान, खेलमैदान, नगर बस पार्क, शीत भण्डार स्थापना गर्नेलगायतका विषयलाई चुनावी प्रचारमा समेट्नु भएको छ ।
गबन्धनका तर्फबाट नगर प्रमुखका उम्मेदवार नवराज ऐरले वृद्ध असक्त, जनयुद्ध र जनआन्दोलनका घाइतेका लागि निःशुल्क स्वास्थ्य उपचारको प्रबन्ध गर्ने, आयुर्वेद, योग र प्राकृतिक चिकित्सा प्रणालीलाई बढावा दिने, स्वास्थ्य पूर्वाधारको विकास गर्नेलगायतका एजेण्डा सार्वजनिक गर्नुभएको छ । कृषि उत्पादनलाई बढावा दिन उन्नत बीऊ बिजन, उन्नत पशुपालनका लागि योजनाबद्ध रुपमा कार्य अगाडि बढाउने, वैज्ञानिक भूमि व्यवस्थापन र भू–उपयोगको नीति तर्जुमा, सूचना र सञ्चारलाई नागरिकको पहुँचमा पु¥याउन आवश्यकता अनुसार टेलिभिजन, एफएम तथा पत्रपत्रिका, अनलाइन सञ्चालकलाई प्रोत्साहन गर्ने उहाँको प्रतिबद्धता रहेको छ ।
राप्रपाका तर्फबाट नगर प्रमुख पदमा उम्मेदवार बनेका जीत सिंह भण्डारीले भने चुनावी मुद्दाका रुपमा हिन्दुत्व र राष्ट्रियतालाई जोडतोडका साथ उठाउनुभएको छ । चुनावी मैदानमा रहेका अधिकांश उम्मेदवारले सडक, सञ्चार, शिक्षा, खेलकूद, कृषि, स्वास्थ्य, यातायात र रोजगारीलाई प्राथमिकतामा राखेर चुनावी मुद्दा बनाई प्रचारप्रसारमा जुटेका छन् ।
“धेरै उम्मेदवारका पुरानै चुनावी मुद्दा रहेका छन्” राजनीतिक विश्लेषक शेरबहादुर भण्डारीले भन्नुभयो, “नगर प्रमुखका युवा उम्मेदवारले सारेका मुद्दा मात्रै नौला रहेका छन् । ती मुद्दा अहिले जनता माझ निकै लोकप्रिय बनेका छन् । युवाहरुले सबैभन्दा बढी रुचाएका पनि छन् ।” नगरमा १२ वटा मतदानस्थल रहेका छन् । नगरपालिकामा जम्मा ३१ हजार ४४८ मतदाता रहेका छन् ।
नगरपालिकामा आदीवासी जनजाती डगौरा, चौधरी, राना थारु, दलित, ब्राम्हण, क्षेत्रीलगायतको बसोबास रहेको छ । थारु र पहाडी समीकरण जोडन सक्नेनै निर्वाचनमा विजय हुने भण्डारीको तर्क छ । क्षेत्रीयताको नारा निकै जोडतोडले उठेकाले सबै समीकरण मिलाउन सक्ने उम्मेदवार विजयी हुने उहाँ बताउनुहुन्छ ।