राजेश थापा
धर्म, संस्कार र संस्कृतिले मानवलाई सत्मार्गमा हिँड्न सिकाउँछ । मानिस त्यसैले त हामी संसारको जुन कुनै ठाउँमा गए पनि आफ्नो धर्म कला संस्कार सँगै लिएर जान रुचाउँछौँ । अझ पूर्वीय संस्कृति र संस्कार संसारमै उत्कृष्ट छ । जन्म देखि मृत्यु सम्मको संस्कार भनौँ वा सामूहिक पारिवारिक वातावरण, अतिथि सत्कार, चाड पर्व आदिले अझ हाम्रो जीवनलाई नै सुगन्धित र सरस बनाएको छ ।
सुनौलो मौका र उपयुक्त अवसरको खोजी गर्दै पाताल लोकमा आइपुग्दा धर्म संस्कार र रीतिरिवाजको अझ धेरै महत्त्व बोध हामीलाई भएको छ । त्यसैले सानफ्रानसिस्को वे एरियामा पनि श्री पशुपतिनाथ र बुद्धको मन्दिर सहितको सामुदायिक केन्द्र निर्माण गर्ने विगत १२ वर्ष देखि सङ्घर्ष जारी छ । तर केही संक्रिण सोच, स्वार्थ र दम्भका कारण अपेक्षित मार्गमा लम्कन सकेको छैन । मानिसको आस्था, भावना र विश्वासमा चोट पुगेको छ ।
उल्झन र इतिहास
भनिन्छ ,सन् १९९३-९४ तिर अमेरिकामा नेपालीको सङ्ख्या औलामा गन्न सकिने थियो । अझ सानफ्रान्सिस्को बे एरियामा त एउटाले अर्को नेपालीलाई भेट्नु साक्षत देवताकै दर्शन पाए जत्तिको हुन्थ्यो ।
तर दुई जना भेटेपछि संस्था र समाज खोल्ने कुरा भइहाल्थ्यो । संस्था खोल्ने फुटाउने र नेता बन्ने त नेपालीको जिनमा नै आइसकेको छ । त्यसै बखत ४-५ जना मिलेर मौखिक सहमतिमा एउटा नेपाली समाज नामकरण गरे । त्यही संस्थाले सानफ्रान्सिस्को वरपरका नेपाली जुटाएर दसैँ कार्यक्रम गर्न थाल्यो । लगत्तै सोही समूहका ४ जनाले असहमति जनाउँदै अर्को संस्थाको नामकरण गरेर अर्को ठाउँमा दसैँ पिकनिक आयोजना गरे । मनमुटाबबाट जन्मिएको यही संस्था अहिले सानफ्रानसिस्को बे एरियामा सबैभन्दा पुरानो संस्थाको पहिचान सहित क्रियाशील छ ।
अर्को समूहले बैह्रभाव गर्दै अगाडि बढेन । अलग भएर संस्था खोल्ने समूहलाई नै लौ राम्रो गर भन्दै छोडिदिए । दोस्रो वर्ष ११ जना नै मिलेर दसैँ पिकनिक मनाएका थिए ।
सन् २००६ र २००८ साल तिर वे एरिया नेपाली समाज निर्माण गर्ने मध्यका रोजर अधिकारी, भक्त थापा, रोसन अधिकारी ,रोशन सुवेदी र नवीन अधिकारीको नेतृत्वमा वे एरियामा मन्दिर सहितको नेपाली कामिनीटि सेन्टर निर्माण गर्ने गृहकार्य भयो । त्यस बेलासम्म बे एरियामा थुप्रै सङ्घ संस्था जन्मी सकेका थिए । २००८–९ तिर वे एरियामा विभिन्न रूप, रङ्ग र स्वभावको प्रतिनिधित्व गर्ने गरी अस्तित्वमा आएका नेपाली सङ्घ संस्थाका प्रतिनिधि र त्यस समयका चल्तापुर्जा नेपालीहरूको सामूहिक छलफल भयो ।
नेपाली समुदाय सानो भएका कारण हिमालयको सेरोफेरोमा पर्ने तिब्बत, भुटान, भारत लगायत सबैलाई समेट्दा कम्युनिटी सेन्टर बन्न सक्ने सम्भावनालाई अगाडि बढाउन भेलाले अनुमोदन ग¥यो । त्यही उपस्थित सबैले नेपाली कम्युनिटी सेन्टरको नामलाई परिवर्तन गरी हिमालयन कम्युनिटी सेन्टर एचसीसीको नाम उपयुक्त हुने सुझाव दिए । त्यस बेला हिमालयन कम्युनिटी सेन्टर कार्यसमितिको जोस, उत्साह र प्रण हेर्दा लाग्थ्यो एक दुई वर्षमा नै कम्युनिटी सेन्टरले मूर्त रूप लिने छ ।
के थियो योजना ?
१.१ मिलियन डलरमा हेवार्डमा ४० वटा पार्किङ सहित हो ठुलो चर्च किन्ने कुरा भयो । त्यसलाई अहिले कम्तीमा ४–५ मिलियन डलर पर्छ । खरिद प्रक्रियाका लागि समितिलाई ३ लाख डलर तत्काल आवश्यक थियो । त्यसका लागि बे एरियाका सबै नेपालीबाट एक हजार डलरका दरले उठाउने प्रस्तावमा पनि सबैको सहमति बन्यो । सामुदायिक भवन खरिदका लागि सहयोग गर्नेहरूले खरिद प्रक्रिया टुङ्गिए पछि पैसा फिर्ता लिन चाहेमा फिर्ता दिने र डोनेसन गर्न चाहनेलाई स्वागत गर्ने निर्णय भएको थियो ।
मन्दिरको नाममा चन्दा दिन रकम कबोल भइरहेको थियो । छोटो समयमा नै १ लाख ७० हजार डलरको प्रतिबद्धता आइसकेको थियो । बाकी अर्को एक लाख ३० हजार डलरको खोजी भइरहेको थियो । सबैले मिलेर यसलाई सफल बनाउन लागि परेका भए अमेरिकामै सानफ्रान्सिस्को वे एरियाका नेपालीहरूले पहिलो मन्दिर सहितको सामुदायिक केन्द्र स्थापना गरेको सुनौलो इतिहास रच्ने थिए । सानफ्रान्सिस्को वे एरियामा बस्ने नेपालीले सुन्दर अवसर मात्र गुमाएनन् आपसी कलहले बदनाम हुनु परेको छ ।
हुन त सुरुमा ११ जना मात्र समिति हुँदा पनि झगडा भएकै हो त्यसलेले सवै कुरा बिग्रँदै गयो । पुरानो भनेर जति दम्भ देखाए पनि सुझबुझ पूर्ण ढङ्गले सबैलाई समेटेर काम गर्न नसक्ने उनीहरूबाटै रोपिएको झगडाको बिरुवा झाँगिएको छ ।
एच सी सीलाई फुटाएर बदनाम गर्ने झुण्ड नै तैयार गरियो । मन्दिर बनाएर नाफाको व्यापार चलाउन थाले भनेर अभियान्ताहरुको बदनाम गर्न थालियो । तल्लो स्तरमा ओर्लिएर झगडा गर्न चाहेनन् वा सकेनन् उनीहरूले । कति त हतोत्साही भएर निष्क्रिय नै भए । हिमालय कम्युनिटी सेन्टर फुटाल्ने झुण्ड नै पुरानै ननपर्फीटबाट ’नेपाली कम्युनिटी सेन्टर’ अगाडि बढाउनु पर्छ भन्दै चर्को कुरा गर्न थाले । नेपाली समाजको एउटा विशेषता जस्तै भइसकेको छ, जो कुर्लिन्छ उसैको पछि लाग्ने जमात तयार हुन्छ ।
सबै संस्थाको साझेदारीमा एनसीसी निर्माण गर्ने अवधारणा आयो । सबैले त्यसैमा साथ दिए । यद्यपि पछि सम्म पनि एच सी सी अस्तित्वमा थियो । एचसिसिलाई पनि एनसिसिमा ल्याउने प्रयास सुरु भयो । एनसीसी स्वायत्त, स्वतन्त्र र सबै संस्थाको छाता संस्था हुने अवधारणलाई अगाडि सार्दै एचसिसिलाई भित्र ल्याइयो ।
बे एरियाका सस्थाहरु बिच यसै विषयमा थुप्रै पटक अनेकौँ सम्झौता भए । सामुदायिक भवन स्वतन्त्र साझा संस्था बन्ने सर्तमा सबैले साथ पनि दिए । अनि यसैलाई लक्षित गरेर ८ वर्षको अवधिमा धेरै कार्यक्रम भए । दुई पटक त महापुराण नै आयोजना गरियो । झाँगिनै गएको नेपाली समुदाय आकर्षित र आसावादी भयो । धेरै रकम कबोल भयो । तर नेतृत्वका आकाक्षिहरुमा स्वच्छ र पवित्र भावना देखिएन । त्यस माथि कार्ययोजना र दूरदर्शिताको अभाव टड्कारो रूपमा खड्कीयो । जसका कारण थप अन्यौल र अनिश्चितताका बिच एनसिसिको अभियान अघि बढिरहेको छ ।
सम्झौतालाई आफ्नै स्वार्थ अनुकूल परिभाषित गर्न थालियो । साझेदार र एन सी सी कार्यसमितिलाई थाहै नदिई एउटा संस्थाको अधीनमा राख्न जाल झेल र धोकाधडिको नौटङ्की रचियो । जाल झेल गरी एन सी सी कार्य समितिलाई थाह नै नदिई सबै साझेदार संस्थालाई धोखा दिएर एनसीसीको पैसा न्यान्सको नाममा सार्ने काम भयो । नेपाली सामुदायिक केन्द्र निर्माण गर्न कुनै हिसाबले पनि लायक नभएको जग्गा खरिद गरियो ।
तरपनि सामुदायिक भवन बनिहाल्छ की भनेर आशामा साथ नै दिए । एनसीसीमा सभापति, महासचिव कोषाध्यक्ष सहित ११ सदस्य कार्यसमितिका लागि निर्वाचन हुने र सोही समितिलाई आवश्यक काम गर्न सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने बताइएको थियो । यही अधारलाई टेकेर नयाँ कार्य समिति आयको छ । तर काम गर्न नदिन बखेडा झिकिएको छ । एन सी सी को (नासो) सम्पूर्ण अख्तियारी नियम सङ्गत रूपमै नयाँ कार्य समितिलाई दिनु पर्छ । तर अधिकार विहीन गरेर काम गर्न कुनै बताबरण दिइएको छैन ।
प्रवासी नेपालीहरूको भावनासँग जोडिएको कर्मको मर्म नबुझ्ने तर ठुला र सधैँ झुटो गफ चुटेकै भरमा ठुटे नेता बन्ने र समाजलाई अनिर्णय को बन्दी बनाउने खेल भइरहेको छ । अव प्रश्न उठ्छ के अव नेपाली सामुदायिक भवन बन्छ त ?
बन्छ त सामुदायिक भवन
एउटा विडम्बना नै भन्नु पर्छ जब सबैलाई आफ्नो महसुस हुने गरी एनसीसीलाई स्वायत्त र साझा संस्थाको रूपमा विकास गर्ने प्रसङ्ग चल्छ तब नियन्त्रणबाट बाहिर जान नदिन फ्याट्ट एमओ यू का कागजी खोस्टाहरू बजारमा छ्यालब्याल पारिन्छ । काम हुँदै गरेको र भइसक्नै लागेको भ्रम छरिन्छ । मानौँ कुनै समस्या नै छैन । अन्तरबिरोध होइन भिन्न सोच, चिन्तन र भावनात्मक आवेगहरू मात्र बाहिर आएका हुन् भन्ने देखाउने प्रयास हुन्छ । यसको सिधा अर्थ हो न्यान्सको सर्वोपरिताको नाममा देखाइएको सङ्कीर्णता । न्यान्सको सर्वोच्चतालाई अपदस्त गर्न खोजेको भ्रममा उनीहरू छन् ।
यही दिग्भ्रमित भएको नेतृत्व र त्यसको वरपर बसेर लयो हाल्ने सानो जमात नै एनसीसीलाई सही मार्गमा लान नदिने कारक पक्ष हो ।अधीनमा हैन, सबै सँगै समकक्षमा बसेर सामुदायिक भवनको पवित्र कार्यलाई प्रस्ट खाका सहित अगाडि बढाउनु पर्छ भन्ने पक्षसँग तर्सिनुको कारण सहजै बुझ्न सकिन्छ । आफ्नो हालीमुहालीका लागि रचिएको चक्रव्यूहको भेदन होला भन्ने डरले नै एमओ यू को प्रपञ्च भइरहेको छ ।
अव केही तथ्यहरूमा मन्थन गरौँ ।
१ साझा सामुदायिक केन्द्र बनाउने भनेर प्रत्येक संस्थाबाट २५०० डलर संस्थागत फी समेत उठाइयो एनसीसीका लागि । तर राखियो न्यान्समा । क्रान्तिकारीहरूकै शब्द भण्डारबाट सापट लिएर भन्ने हो भने ’खसीको टाउको राखेर कुकुरको मासु बेच्ने काम भयो । चलन चल्तीको शब्दमा भन्ने हो भने दिउसै रात पार्ने काम भयो ।
२ सहयोग सङ्कलन गर्दा १००० डलर बराबर एक भोट भन्दै सहयोग सँगै हिस्सेदारी र मतदानको सुनिश्चितताको पनि निर्क्योल गरिएको थियो । बस्तुत त्यसलाई व्यवहारिक रूपमा उतार्न संस्था अर्थात् न्यान्स स्थापनाको उद्देश्य अनुरूपको विधान, मुनाफारहित संस्थाको अर्थ सङ्कलन, परिचालन विधि र निर्वाचन प्रक्रियामा समायोजन गरेर अमेरिको सरोकारवाला निकायमा बुझाइएको छ की छैन भन्ने पनि सबै सदस्यलाई जानकारी गराइनु पर्छ । यी पक्षमा सबै सदस्यलाई सहजै बुझ्ने गरी जानकारी दिइनु पर्दछ । आपसमा बाझिने र नमिल्ने गरी जबरजस्त ढङ्गले काम भइरहेको छ की छैन भनेर जानकारी नदिनु भनेको नेतृत्वले संस्था भित्र रहँदा गर्ने अपराध हो ।
३ विधिवत् प्रक्रियाबाटै एनसीसी चलिरहेको छ भनेर देखाउने मात्र हो भने पनि निर्वाचनका लागि दर्ता शुल्क तिरेर आएका पदाधिकारी र सदस्यहरूलाई एनसीसीका नाममा भएका सबै कामको पूर्ण विवरणको दस्ताबेज र अधिकार हस्तान्तरण हुनुपर्दछ । त्यस्तो गरिएको छैन । अब आफै भन्नुस नाम मात्रको उपस्थितिमा अधिकार बिहन बनाएको एन सी सी को नयाँ कार्यसमितिले कसरी सामुदायिक भवन निर्माणलाई गति दिन सक्छ ? सबैको कामना र भनाइ यति मात्र हो काम गर्न कै लागि आएको समितिलाई हात खुट्टा बाँधिन काम गर्न देऊ ।