साउथ फिल्मले यतिबेला बस अफिसमा तहल्का पिटेका छन् । निरन्तर रुपमा बक्स अफिस आफ्नो कब्जामा पार्न सफल भएका छन् साउथ फिल्महरु । यसैक्रममा पछिल्लो समय रिलिज भएको साउथका सुपरस्टार यशको फिल्म ‘केजीएफः च्याप्टर २’ ले ठूलठूला फिल्मलाई समेत पछारेको छ । यो फिल्मले कलेक्शनको मामिलामा आमिर खानको ‘दंगल’लाई समेत पछाडि नै छोडि दिएको छ ।
केजीएफ २’ भारतकै दोस्रो धेरै कमाउने फिल्म बन्न सफल भएको छ । फिल्मको हिन्दी संस्करणले मात्र बुधबार सम्मको तथ्यांक अनुसार ३१६ करोड ६५ लाख कलेक्सन गर्न सफल भएको छ । अहिले यो फिल्म ४०० करोडको आँकडातर्फ अघि बढिरहेको छ, जुन छिट्टै पार गर्ने अनुमान गरिएको छ । यस चलचित्रले विश्वव्यापी कलेक्सनमा एक हजार करोडको आँकडा नाघिसकेको छ ।
यसैबीच रकी भाइ अर्थात् यशको फिल्म ‘केजीएफ २’ ले ओटीटी राइट्सबाट पनि करोडौं रुपैयाँ संकलन गर्न सफल भएको छ । टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार ‘केजीएफः च्याप्टर २’ को ओटीटी अधिकार करिब ३२० करोड भारुमा बिक्री भएको छ, जुन भारतीय फिल्मका लागि सबैभन्दा ठूलो सम्झौता साबित भएको छ । केजीएफ २’ कन्नड, तमिल, तेलुगु, मलायालम र हिन्दी लगायतका भाषाहरूमा ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ ।