बाजुराको बुढीनन्दा ९ पाण्डुसेनमा चुनाव प्रचार प्रसारको क्रममा कांग्रेस संग भएको कुकुरलाई एकीकृत सामाजबादीका कार्यकर्ता जिस्काउँदा झडप भएको छ । कुकुर जिस्काएकै निहँुमा भएको झडपले उग्र रुप लिएको थियो । झडपका क्रममा १६ जना घाईते भएका छन् । घाईतेहरुमा १० जना प्रहरीहरु, ३ जना कांग्रेसका कार्यकर्ता तथा ३ जना एकीकृत समाजबादीका कार्यकर्ता रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गिहेन्द्र बोगटीका अनुसार अहिले त्यहाँको स्थिति नियन्त्रणमा आइसकेको छ। सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले चुनावी प्रचारका क्रममा कांग्रेससँग भएको कुकुरलाई समाजवादीका कार्यकर्ताले जिस्क्याएको निहुँमा उक्त घटना भएको जानकारी दिए । कुकुरलाई जिस्काएपछि सुरुमा दुवै पक्षका कार्यकर्ताबीच ढुंगा हानाहान भएको थियो।
कांग्रेस कार्यकर्ताहरुको जमात ठुलो भएकोले त्यसपछि समाजवादीका कार्यकर्ताहरु सुरक्षाका लागि भन्दै स्थानीय प्रहरी चौकीमा पसेका थिए। त्यहाँ पनि कांग्रेस कार्यकर्ताहरुको टिमले हुलहुज्जत गरेको थियो । चौकीमै ढुंगामुडा गरेपछि प्रहरीले हवाईफायर र अश्रुग्यास प्रहार गरेको सहायक प्रजिअ बिष्टले जानकारी दिए । थप झडप हुन सक्ने भन्दै त्यहाँ रातभर गस्ती बढाइएको छ ।