मतदाता रिझाउन प्रतिबद्धतासहित घरदैलोमा उम्मेदवार — OSNepal

मतदाता रिझाउन प्रतिबद्धतासहित घरदैलोमा उम्मेदवार

LC (KTM) May 06, 2022 0

वीरगञ्ज, २३ वैशाख-विभिन्न राजनीति दलका उम्मेदवारले मतदाता रिझाउन घरदैलो गर्ने कामलाई तीव्रता दिइरहेका छन् । पर्सा जिल्लामा मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज सहित तीन नगरपालिका र ११ गाउँपालिकाका छन् । ती दल तथा स्वतन्त्र उम्मेदवार आ–आफ्नो पार्टीको घोषणापत्रसहित स्थानीयस्तरका विकास निर्माणका एजेण्डा राखेर प्रतिबद्धतासहित मतदाताको घरदैलोमा पुग्न व्यस्त देखिन्छन् ।

फरकफरक शैलीमा फरकफरक राजनीतिक दलका वा स्वतन्त्ररुपमा उम्मेदवार दिएका सबैजसो उम्मेदवार सकेसम्म सबै मतदाताको घरदैलोमा पुग्ने गरी उम्मेदवारले बिहानदेखि रातिसम्मै प्रचारप्रसारमा लागेका छन् । पालिकावासीको समृद्धिका लागि खटिने प्रण गर्दै उम्मेदवारले आवश्यकताअनुसार पालिकाको विकास निर्माणलगायतका चौतर्फी विकास गर्ने एजेण्डा मतदाताका माझ उम्मेदवारले प्रस्तुत गर्दै आएका छन् ।

मतदाता पनि यस पटक उम्मेदवारले चुनावी एजेण्डा वा प्रतिबद्धता सार्वजनिक गरे पनि अधिकांश उम्मेदवार निर्वाचन जितेपछि यसअगावै निर्वाचनमा विजयी भएको उम्मेदवारले यसबारे सतप्रतिशत कार्यान्वयनमा जोड नदिएको आरोप लगाउँदै आएका छन् । यसरी प्रत्यासीले प्रतिबद्धता व्यक्त गरेर मतदातालाई आ–आफ्नो पक्षमा रिझाउने कसरत तीव्र बनाइरहँदा कतिपय मतदाताले भने महत्वाकाङ्क्षी र ठूला आश्वासन बाँड्न थालिएको भन्दै टिप्पणी गर्न थालेका छन् ।

वीरगञ्ज महानगरपालिकाबाहेक अन्य सबैजसो पलिकामा राजनीतिक दलहरुबीच चुनावी तालमेल देखिएको छैन । महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का बीच तालमेल भएको छ भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच चुनावी तालमेल भएको छ । महानगरपालिकाबाहेकका अन्य पालिकामा राजनीतिक दलहरु बीच खासै तालमेल भएको छैन ।

जिल्लामा १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लामा तीन लाख ३९ हजार ८३६ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ती मध्ये पुरुष मतदाता एक लाख ९१ हजार ५३७ र महिला मतदाता एक लाख ४८ हजार २८३ र अन्य मतदाता १६ छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर