चितवन, २२ वैशाख-एमाले अध्यक्ष केपी ओलीले गफमा विद्यावारिधि गरेको नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले टिप्पणी गरेका छन् । चितवनमा बिहीबार आयोजित सत्तारुढ गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उनले गफमा ओलीले विद्यावारिधि गरेको टिप्पणी गरेका हुन् ।
‘ओलीले गफमा विद्यावारिधि गरेका छन् । झुटको पुलिन्दा छर्न सक्छन् । समयमा बुझ्नु भएन भने फुर्सदमा पछुताउनु पर्ला,’ उनले भने, ‘यहि भरतपुरमा २०६२ को जनाअन्दोलनको जुलुसको अगुवाइ गरेको थिएँ । अहिले पनि केपी ओलीको प्रतिगमनविरुद्ध एकतावद्ध नभएको भए संविधान कागजको खोस्टोमा परिणत हुने थियो ।’
एमालेको आवश्यकता र औचित्य सकिएको दाबी गर्दै एमालेबाट अलग भएर एकीकृत समाजवादी गठन गरेका नेपालले भने, ‘एमालेमा फर्सी फलाएको मैले नै हो । तर, त्यो फर्सी कुहिसकेको छ । वाम लोकतान्त्रिक गठबन्धनलाई नोक्सान हुने गरि कोही लाग्न हुँदैन ।’
रेणु दाहालले भरतपुरको विकासको लागि अघि बढ्न मेयरमा उम्मेदवारी दिएको भन्दै उनले भने, ‘भरतपुरमा दुई मत छैन । रेणु दाहाल विकासको लागि अघि बढ्ने मेयर पाएका छौँ भन्छन् जुन मान्छेलाई सोध्दा पनि । नमुना नगरको रुपमा भरतपुरलाई विकास गर्नु छ ।’