काठमाडौं, २२ वैशाख -नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई निर्वाचनमा निष्क्रिय पार्न भन्दै भरतपुरमा छन् ।पौडेललाई निष्क्रिय पारेर गठबन्धनबाट प्रमुख पदकी उम्मेदवार बनेकी रेणु दाहालको पक्षमा चुनावी माहोल बनाउन देउवाले चाहेका छन् । उनले पौडेलसँग छलफलसमेत गरेको कांग्रेसका एक नेताले जानकारी दिए । पौडेल भने सकारात्मक निष्क्रिय हुन सकारात्मक भइसकेका छैनन् । देउवाले उनलाई ‘कन्भिन्स’ पार्न भने प्रयास गरिरहेको ती नेताले बताए ।
तर, कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले भने पौडेलसँग छलफल गर्ने भन्ने सुनेको र पौडेल सकारात्मक कि नकारात्मक भए भन्ने जानकारी नभएको बताए ।‘सभापतिज्यूले भेट्ने भन्ने कुरा चाहिँ सुनेको थिएँ । तर, भेट भयो कि भएन र भेटमा निष्क्रिय हुन उहाँ (जगन्नाथ पौडेल) सकारात्मक हुनु भयो कि भएन भन्ने जानकारी छैन’, न्युज कारखानासँग भने ।
पौडेललाई १६ वैशाखमा उम्मेदवारी फिर्ता गराउन यसअघि गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठलाई देउवाले पौडेलकै घरमा पठाएका थिए । उनीहरूले आग्रह पनि गरे तर पौडेल टसमस भएनन् ।
यसपछि भने नेता शंकर भण्डारीलाई पनि पौडेललाई भेट्न पठाए । उम्मेदवारी फिर्तादेखि निष्क्रिय रहन अस्वीकार गर्दै आएपछि देउवा नै भरतपुर पुगेका हुन् ।पौडेल १६ वैशाखकै पार्टीको साधारण सदस्यतासमेत नरहनेगरी कारबाहीमा परिसकेका छन् । उनी स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचन चिह्न ‘भुइँकटहर’ लिएर घरदैलो अभियानमा छन् । कांग्रेसबाट उनी यसअघि राष्ट्रियसभा सदस्य भइसकेका छन् । उनी गठबन्धनप्रति असन्तुष्ट हुँदै स्वतन्त्र उम्मेदवार बनेका हुन् ।