काठमाडौं २१ वैशाख । प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विरुद्ध उजुरी परेको छ । प्रधानमन्त्री देउवा विरुद्ध अधिवक्ता सुनिता अधिकारीले उजुरी दिएकी हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी सभामा सहभागी हुन भरतपुर आउन लागेको विषयमा देउवा विरुद्ध उजुरी परेको हो ।
उजुरीमा भनिएको छ , ‘२२ वैशाखका दिन नेपाली कांग्रेस, माओवादीसमेतका गठबन्धनका उम्मेद्वारको पक्षमा शेरबहादुर देउवालगायत नेपाल सरकार तथा प्रदेश सरकारको मन्त्रीहरू सहभागी हुने कुरा राष्ट्रिय समाचार पत्रिकामा प्रकाशित भएको हुँदा आचार संहिता विपरीत हुन लागेको कार्यक्रम स्थगित गरी पाउँ र आचारसंहिताविपरीत कार्य भएमा सजाय समेत गरी पाऊँ’ ।
देउवाले चुनावी प्रचार प्रसार गर्न सरकारी सम्पतिको प्रयोग गरेको उजुरीमा भनिएको छ ।
निर्वाचन आचार संहिता २०७८ को दफा ५ मा स्पष्ट लेखिएको छ, निर्वाचनमा आफै उम्मेदवार भएका अवस्थामा बाहेक नेपाल सरकार, प्रदेश सरकारका मन्त्रीले कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष विपक्षमा प्रचार प्रसार गर्न पाइने छैन ।