काठमाडौं २१ वैशाख । बुधबार बिहान १० बजे एक अज्ञात व्यक्तिबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ८ वटा बम राखिएको भन्दै फोन गर्ने व्यक्तिको खोजी कार्य सुरु भएको छ ।
सुचना पाए लगत्तै नेपाली सेनाले तालिम प्राप्त कुकुरको टोली सहित सबै स्थानमा जाँच गर्दा कुनै शंकास्पद वस्तु नभेटिएपछि फोन गर्ने व्यक्तिको खोजी कार्य सुरु गरिएको हो ।
फोन नेपालभित्रबाटै आएको हुनाले उक्त समयमा फोन आएको सबै नम्बरहरूमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । फोन विमानस्थलस्थित नागरिक उडड्यन प्राधिकरणको कार्यालयको ‘ल्यान्डलाइन’ नम्बरमा आएको थियो ।
सुचना पाए लगत्तै विमानस्थलमा रहेका करिब दुई हजार यात्रुलाई बाहिर निकालिएको थियो । अहिलेसम्म आन्तरिक उडान सञ्चालन भएको छैन ।