काठमाडौं १९ वैशाख । केहि सातादेखि छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।
भारतमा कोरोना संक्रमणको दर बढ्न थालेको र नेपालमा पनि फैलिन सक्ने भन्दै मन्त्रालयले सतर्कता अपाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारी दिएको जानकारी अनुसार नेपालमा कोरोना संक्रमण दर कम भएसँगै सर्वसाधारणले स्वास्थ्यका मापदण्ड पालना गर्न छोडेका छन् ।
पहिलो लहरमा भारतमा संक्रमण उच्च बिन्दुमा पुगेको एक महिनाभित्र नेपालमा पनि संक्रमण बढेको र दोस्रो लहरमा दुई हप्तामै नेपालमा फैलिएको जानकारी दिएका उनले अहिले भारतमा फैलिएको कोरोना ओमिक्रोनकै एउटा प्रजाती रहको प्रारम्भिक तथ्य फेला परेको बताएका छन् ।
‘चुनाव लगायतका कारणले विदेशमा भएका आफन्तहरु फर्किंदै हुनुहुन्छ । यस्तो बेलामा जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न लगाउने र क्वारेन्टिनमा बस्न लगाउने कुरामा बढी ख्याल गर्नुपर्छ’ न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले भने ।