काठमाडौं १८ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता नेता रामचन्द्र पौडेलले २३ सिटमा रहेको कांग्रेसलाई ९३ सिटमा पुर्याउन गठबन्धन गरिएको बताएका छन् ।
आइतबार तनहुँमा नेपाल ट्रेड युनियन कांग्रेसले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।
‘२३ सिटमा रहेको कांग्रेसलाई ९३ सिटमा पुर्याउन गठबन्धन गरिएको हो, यसले कांग्रेसलाई नै बलियो बनाउनेछ’ पौडेलले भने ।
कांग्रेसले अन्य पार्टीसँग गरेको गठबन्धनलाई अन्यथा नलिन कार्यकर्तालाई आग्रह समेत गरेका उनले सबैको सहयोग लिएर कांग्रेसलाई बहुमतमा पुर्याउन गठबन्धन गरिएको स्पष्ट पारेका छन् ।
संविधानको रक्षा र परिवर्तनलाई जोगाउन गठबन्धन आवश्यक रहेको बताएका उनले गठबन्धनको विरोध गर्नु भनेको प्रतिगमनलाई प्रश्रय दिनु भएको बताएका छन् ।
गठबन्धनको पक्षमा द्विविधामा रहन आवश्यक नभएको तर्क दिएका उनले सबैले गठबन्धनलाई बलियो बनाउनेतर्फ ध्यान आग्रह समेत गरेका छन् ।